नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न



२९ पुस २०७६, काठमाडौं

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो ।

सभाले आर्थिक वर्ष २०७५।७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै उनले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको समेत उनले जानकारी गराए ।

अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी गराए । साथै गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यवसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको जनाए ।

कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनीहरुले उठाएका विभिन्न सुझावहरु प्रति आभार व्यक्त गर्दै प्राप्त सुझावहरुको सम्भव भएसम्म नीतिगत र व्यवहारिक रुपले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

बाह्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम २०७६ माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्