
२९ पुस २०७६, काठमाडौं
लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् ।
गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने सम्भवत पहिलो नेपाली कलाकार हुन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वा्चित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्त रूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेका थिए ।

गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेका छन् भने १० वटा गिती एल्बममा आफ्नो स्वर र संगीत सिर्जना गरेका छन् ।
जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा डाकिएको साँगितिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना सुमधुर गीतहरू गाएर उपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएका थिए।
गायक परियारको बहुचर्चित गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथी’ ले गीत यूट्यूब च्यानलमा दुई करोड ५३ लाख (२५ मिलियन) भन्दा बढीले हेरिससकेका छन् भने’ आँशुको अर्थ के थाहा’ गीत डेढ करोडले हेरिएको छ ।
उनका एल्बमहरु मोक्ष (२००५), स्वयम् (२००८), कादम्बिनी (२००८), क्या दामी (२००९), फाटेको मन (२०१०), पागल (२०११), कथाले मागेपछि (२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी (२०१३) र शिव बूक (२०१५) छन् ।
रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिवपरियार त्यसयता नेपालको थुप्रै म्यूजिक पुरस्कार छनौटबाट एक दर्जनभन्दा बढी पटक उत्कृष्ट गायक चुनिएका छन् । उनी सन् २०१६ मा नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कारबाट समेत सम्मानित गर्बिला युवा गायक हुन् ।





