
२८ पुष २०७६, काठमाडौं
आगामी १४ फागुनमा हुने स्ववियू निर्वाचनमा सम्पूर्ण रुपले होमिने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूको केन्द्रीय समितिको दुई दिने बैठक सकिएको छ।
आइतबार (हिजो) राष्ट्रिय सभा गृहमा उद्घाटन भएको बैठक सोमबार (आज) त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सम्पन्न भएको हो। पूर्व एमाले निकट अनेरास्ववियू र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)बीचको एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको हो।
केन्द्रीय समितिमा पूर्व अनेरास्ववियूबाट १८० जना र पूर्व क्रान्तिकारीबाट १५५ जना समावेश भएका छन्। बैठकले एक महिनाभित्र प्रदेश, जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ।
नयाँ विधानुसार अब अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय, सचिवालय १११ सदस्यीय, स्थायी समिति ४५ सदस्यीय र ९ देखि १५ जना सम्मको केन्द्रीय कार्यालय (हाइकमाण्ड) रहने छन्।





