
२७ पुस २०७६, काठमाडौं
समुदाय–प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम प्रतिनिधि सभाका सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा बौद्धमा आईतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सुरक्षित समाज निर्माण गर्न प्रभावकारी भुमिका खेलको बताउँदै सबै पक्षका नागरिकहरूले समाज मेरो हो भन्ने बुझ्यो भने समाज सुरक्षित हुने बताए । सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभएर नागरिकहरू सचेत रहँदै समाजमा कस्ता खालका घटना घट्छ समयमै प्रहरीलाई जानकारी गराएमा सुरक्षित समाज निर्माण गर्न सकिने बताए ।
कार्यक्रमका विशेष अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै बन्द कोठामा गरिएको आलोचनाले भन्दा खुल्ला ठाउँमा गरिएका आलोचनाहरूले सुधार गर्न सहज हुने भएकाले प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकका घर दैलासम्म पुगेको बताउँदै नागरिकका असन्तुष्टीहरूले सुधार गर्न सहज हुने र सन्तुष्टिले थप कार्य गर्न उत्प्रेरणा जगाउने बताए ।
कयौं घटनाहरू आफन्तबाटनै घटेका स्मरण गराउँदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न रेगुलर पोलिसिङबाट मात्र सम्भव नभएकाले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रहरीको आचरण व्यवहार नम्र, शिष्ट र कानून कार्यान्वयनमा निर्दयिता अपनाउन कर्मचारीहरूलाई निर्देशन दिएको बताउँदै कुनै ठाउँमा प्रहरीको कमी कमजोरी वा कानून उल्लंघन गरेको देखेमा आफूलाई सिधै खबर गर्न आग्रह गरेका छन् । त्यस्ता प्रहरी कर्मचारीहरूलाई तत्कालै आफूले कारवाही गर्ने उनले बताए ।
महानगरीय प्रहरी वृत्त बौद्ध र सामुदायिक सेवा केन्द्र बौद्धद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु, संचारकर्मी र स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।





