झनै भयावह बन्दै अष्ट्रेलियाको डढेलो : प्रधानमन्त्रीले मागे माफी (फोटो फिचर)



२८ पुष २०७६, काठमाडौँ

दक्षिण–पूर्वी अष्ट्रेलियाको आकाशको रंग रगत झैं रातो देखिन्छ । यहाँको नयाँ वर्ष पनि यसै रंग र चिन्तासहित सुरु भएको थियो ।

यहाँका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलियाको त्यति नै भू–भागमा आगलागी भएको छ । कम्तीमा दुई हजार घर ध्वस्त भइसकेका छन् । स्थिती थप चिन्ताजनक हुने अनुमान छ ।

तापक्रमले सबै रेकर्ड तोडिसकेको छ, सुख्खा जंगल र तीब्र हावाका कारण आगो थप भयावह भएको छ । यसै महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । सन् २०१७ देखि न्यू साउथ वेल्स र क्विन्सल्याण्डमा लगातार कम वर्षा भइरहेको छ । वर्षा नभएका कारण कृषि उत्पादनमा त असर पुगेकै छ, यसले आगो फैलिन पनि मद्दत गरेको छ ।

न्यू साउथ वेल्समा करिब एक करोड एकडको इलाका जलेर खरानी भएका छन् । गर्मी मौसममा अष्ट्रेलिया सामान्य रुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढ्दै गयो । यस्तोमा झाडी पनि सुक्दै गयो ।

अष्ट्रेलियाको हरेक राज्य आगोबाट प्रभावित भएको छ तर न्यू साउथ वेल्स सबैभन्दा धेरै प्रभावित भएको छ । अष्ट्रेलियाका ठूला शहर मेलबर्न र सिड्नी पनि आगीबाट बच्न सकेका छैनन् । डिसेम्बरको सुरुवातसँगै सिड्नीको हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो ।

अष्ट्रेलियामा गर्मीयाम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम पत्रिकाका अनुसार न्यू साउथ वेल्सका करिब ३० प्रतिशत जंगल जलिसकेको छ । यो हप्ता यसको दायरा ५० प्रतिशतसम्म फैलिने आशंका गरिएको छ । अष्ट्रेलियाको मौसम विभागका अनुसार सन् २०१९ मा सबैभन्दा गर्मी मापन गरिएको छ ।

आँकडाका अनुसार अष्ट्रेलियाको तापक्रम सन् १९१० पछि एक डिग्री सेल्सियस बढेको छ । ब्यूरो अफ मेटिअरोलोजीका अनुसार सन् १९५० पछि तापक्रममा थप वृद्धि हुन सुरु भएको छ । अष्ट्रेलियाले डिसेम्बरमा मात्रै दुई पटक तापक्रमको रेकर्ड तोडेको थियो । १७ डिसेम्बरको औसम अधिकतम तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसको भोलिपल्ट १८ डिसेम्बरको तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । यी दुबै दिनमा सन् २०१३ को ४०.३ डिग्री सेल्सियस तापक्रमको रेकर्ड तोडिएको थियो ।

डिसेम्बरको अन्त्यमा हरेक राज्यमा ४० डिग्रीभन्दा माथि नै तापक्रम मापन गरिएको थियो । यसमा तस्मानिया राज्य पनि समावेश थियो जुन साधारणतया अन्य इलाकाको तुलनामा चिसो मानिन्छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि अपनाइएको तरिकाप्रति खेद व्यक्त गरेका छन् ।

स्कट मरिसनले आगो र जलवायु परिवर्तनको विषयमा उनको सरकारको धारणाका लागि आलोचनाको सामना गरिरहेका छन् ।

आइतबार प्रधानमन्त्रीले स्विकार गर्दै भने, ‘मैले थुप्रै कुरालाई यो भन्दा राम्रो तरिकाले सम्हाल्न सक्थेँ ।’

पछिल्ला केही हप्तामा न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा आगलागीबाट प्रभावित इलाकाको भ्रमणको क्रममा स्कट मरिसनले विरोधको सामना गर्नुपर्यो । यसका कारण उनले आफ्नो भ्रमण बीचमा नै रद्द गरेका थिए । यी दुई राज्य आगोबाट सबैभन्दा धेरै प्रभावित छन् ।

न्यू साउथ वेल्सको कोबार्गो शहरमा जब प्रधानमन्त्री पुगे तब एक महिलाले फायर सर्भिसका लागि थप स्रोत साधनको माग गर्न थालिन् । कतिले उनलाई ‘मूर्ख’ बताउँदै भने, ‘तिमीले यहाँबाट कुनै पनि भोट पाउनेछैनौं ।’

एबीसीसँगको एक अन्तर्वार्तामा स्कट मरिसनले भने, ‘यो संवेदनशील परिस्थिती हो, यो भावनात्मक परिस्थिती हो । मानिसहरुसँग भेट्ने बेला प्रधानमन्त्रीको पनि

भावना र कमजोरी हुन्छन् ।’

आगलागीमाथि नियन्त्रणको कोसिसका लागि उनले अनुसन्धान गर्ने बताएका छन् ।

अष्ट्रेलियामा आगलागीका कारण संकटकालको स्थिती हुँदा प्रधानमन्त्री मरिसन भने हवाईमा परिवारसहित छुट्टी मनाउन गएको भन्दै गत महिना व्यापक आलोचनाको शिकार भए । मानिसहरुको रिस बढ्दै गएको देखेपछि उनले आफ्नो भ्रमण बीचैमा स्थगित गरेका थिए ।

जलवायु परिवर्तनमाथि प्रधानमन्त्रीको धारणा

स्कट मरिसन सरकारमाथि जलवायु परिवर्तनको विषयमा गम्भीरतापूर्वक कदम नउठाएको आरोप लागेको थियो । विशेषज्ञका अनुसार जलवायु परिवर्तनमाथि सरकारको दृष्टिकोणका कारण नै पटकपटक र भयानक आगलागी भइरहेको छ ।

तर अन्तर्वार्ताको क्रममा प्रधानमन्त्रीले आफ्नो सरकारको धारणाको बचाउ गरेका छन् र आगलागी हुनुमा जलवायु परिवर्तनको पनि प्रभाव भएको स्विकार गरेका छन् ।

प्रधानमन्त्रीले भने, ‘हामी लामो, तातो र सुख्खा गर्मीमा बसिरहेका छौं । यसमा स्पष्ट रुपमा जलवायुमा आएको व्यापक परिवर्तनको प्रभाव रहेको छ ।’

उनले कार्बन उत्सर्जनलाई कम गर्ने योजनामा जोड दिँदै आफ्नो सरकार लक्ष्यलाई पूरा गर्ने दिशामा अग्रसर भएको बताए ।

पेरिस जलवायु सम्झौता अनुरुप अष्ट्रेलियाले सन् २००५ को तुलनामा सन् २०३० सम्म कार्बनको उत्सर्जन २६ देखि २८ प्रतिशतसम्म कम गर्ने बचन दिएको थियो ।

यद्यपि, उनले जलवायु परिवर्तनसँग जुघ्नका लागि ‘अन्तर्राष्ट्रिय समाधान’ को आवश्यकता भएको बताए ।

शुक्रबार अष्ट्रेलियामा हज्जारौं मानिसहरुले जलवायु परिवर्तनको विषयमा विरोध प्रदर्शन गरे ।

सिड्नी, मेलबर्न र क्यानबेराजस्ता शहरमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई चाँडोभन्दा चाँडो जीवाश्म इन्धनको विकल्प अपनाउन दबाब दिए ।

अष्ट्रेलियाको वर्तमान स्थिती

शनिबार अष्ट्रेलियाको आगलागीमा थोरै कमी भएका कारण अग्नी नियन्त्रकहरुलाई आगो निभाउन थोरै रहत भयो ।

तर अर्को हप्ता मौसम थप गर्मी हुने छ जसका कारण आगोको खतरा थप बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रशासनका अनुसार जबसम्म वर्षा हुँदैन तबसम्म आगोलाई पूर्ण रुपमा निभाउन सकिँदैन ।

न्यू साउथ वेल्स (एनएसडब्ल्यू) मा १ सय २३ भन्दा बढी स्थानमा आगलागी भएको छ । एनएसडब्ल्यू रुरल फायर सर्भिसका अनुसार अहिलेसम्म दुई हजार बढी घर जलिसकेका छन् ।

भिक्टोरियामा शनिबारसम्म ३२ स्थानमा आगलागीको चेतावनी थियो । त्यहाँ शनिबार नै आगो निभाउने क्रममा एक अग्नी नियन्त्रकको मृत्यु भएको थियो । त्यसपछि मृतकको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्