नेकपा माप्य दुधकोशी गाउँपालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न



२७ पुष २०७६, काठमाडौं/सोलुखुम्बु

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक दिने बृहत भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण नेकपा माप्य दुधकोशी गाउँपालिका कमिटिको आयोजनामा काठमाडौंको शुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो। प्रशिक्षण कार्यक्रममा हजारौं नेता तथा कार्यकर्ताले प्रशिक्षण लिएका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग उपप्रमुख जनार्दन शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सोलुखुम्बुका कम्युनिष्ट नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

सरकारको योजनालाई जिल्ला स्तरसम्म पुर्‍याउन र जिल्लाका समस्यालाई केन्द्रसम्म सुनाउनका लागि पनि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी पार्टीबीच एकता भएर विशाल कम्युनिष्ट पार्टीको गठन भइसकेपछी पार्टीका योजनाहरु जिल्लास्थित नेता तथा कार्यकर्तामा पुग्न नसकिरहेको परिप्रेक्षमा यस्ता खाले कार्यक्रमको आयोजना हुनुलाई निक्कै सान्दर्भिक मानिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा संगठन विभाग उपप्रमुख जनार्दन शर्मा

शनिबार (हिजो) भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्लास्थित नेता तथा जनप्रतिनिधि र कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो। जसमा नेकपाका प्रदेश नं. १ कमिटि अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरे र नेकपा स्थायी कमिटि सदस्य तथा संगठन विभाग उपप्रमुख जनार्दन शर्माले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा नेकपा सोलुखुम्बुका जिल्ला अध्यक्ष मानवीर राई, सचिव गोन्बु शेर्पा कर्ज्याङ, माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, प्रदेश सांसदद्वय उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी तथा संघीय सांसद सांसद हेम कुमार राई (सुरवीर)ले समेत आफ्नो मन्तव्य रोखेका थिए।

मन्तव्यका क्रममा वक्ताहरुले सोलुखुम्बुमा संगठन सुधारको वर्तमान स्थिति, निर्वाचित निकायले गरिरहेको कार्यप्रगति र आगामी रणनीतिको बारेमा आफ्नो धारणा राखेका थिए।

तस्वीरमा कार्यक्रममा निमन्त्रित नेकपा नेता तथा कार्यकर्ताहरु

अन्त्यमा १ नंं. प्रदेश कमिटि अध्यक्ष घिमिरे र संगठन विभाग उपप्रमुख शर्माले पार्टीको प्रतिवेदन र विधानमा आधारित भएर पार्टीले अंगिकार गरिरहेको उद्देश्यको विषय स्पष्ट पारेका थिए।

नेकपाको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष गौरब खालिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रशिक्षण लिएका हुन्।

कार्यक्रममा नेकपा १ नं. प्रदेश कमिटि सदस्य महेश किराँती, थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफ कुमार बास्तोलालगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्