अदालतले भन्यो, ‘रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउनु’



२७ पुष २०७६, काठमाडौं

जिल्ला अदालत काठमाडौंले रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउन आग्रह गरेको छ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारीरिक हिंसा गरेको भन्दै पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

सोही मुद्दाको सुनुवाई गर्दै आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटना विवरण कागज गरिदिने साक्षीहरू बुझ्न आदेश गरेको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।

‘इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने डाक्टर, घटनास्थलमा भेटिएका सामाग्रीको परीक्षण गर्ने प्रयोगशालाका विशेषज्ञहरू र घटना विवरण कागज गरिदिने साक्षीहरूलाई पनि बोलाउने आदेश गरेको हो,’ श्रेष्तेदार श्रेष्ठले भनेका छन्।

मुलुकी अपराध संहिता २०७४ को दफा ३८ को देहाय (घ) बमोजिम कसूरको गम्भीरता बढाउने अवस्थाको भएको भन्दै जबरजस्ती करणी उद्योगमा हुने सजायको डेढी सजाय हुने सरकारी वकिलको माग दाबी छ।

गत १२ असोजको राति महरा आएर पहिले रक्सी खाएको र त्यसपछि बलात्कारको प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्। उक्त घटना बाहिर आएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्