
२७ पुस २०७६, काठमाडौं
नेपालको ७७ जिल्लाको मानिसहरू आवत जावत हुने नयाँ बसपार्क क्षेत्रमा रहेको विकृती विसंगती हटाउन हामी सबै एक ठाँउमा उभिनुपर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोगंबुको संयुक्त आयोजनामा शनिबार दिउँसो सौगात पार्टी प्यालेस गोगंबुमा आयोजित सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथी पोखरेलले सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ त्यो पूरा गर्न तपाई हाम्रो भूमिका पनि जरुरी छ भन्दै हाम्रा आकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्ने प्रवृत्तिले देश बन्न नसक्ने र सरकारको आकांक्षामा मेरो भूमिका कहाँ छ भनी खोजी गरिनुपर्ने बताए । आर्थिक अनियमितता, भष्ट्राचारलाई निर्मुलपार्न नसकिए मुलुकमा सुशासन र आर्थिक समृद्धि आउन नसक्ने भएकाले प्रहरीले दिने सेवा प्रवाहमा कुनै कर्मचारी आर्थिक अनियमीततामा संलग्न भएमा आफुले त्यसलाई कहिल्यै एक्सक्युज (माफ) नगर्ने कारवाही गरेरै छाड्ने बताए ।
बाहिर निस्किदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त–सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनुपर्दछ भन्ने कुरा कहिले पनि नभुल्नुस भनि स्मरण गराउँदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न रेगुलर पोलिसिङ बाट मात्र सम्भव नभएकाले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न नै समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै यस प्रकारको कार्यक्रमले हामी सबैलाई बढि भन्दा बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउने कुरा प्रमुख अतिथि पोखरेलले बताए ।
गलत साथी संगतिका कारण युवाहरूमा लागुऔषध दुर्व्यसनी भयावह रूपमा देखिएको भन्दै त्यसलाई न्यूनीकरण गर्न परिवारकै सदस्यहरू लाग्नुपर्ने बताएका छन् ।
आफ्ना बालबच्चालाई पर्याप्त समय दिई उनीहरू कहाँ जान्छन, के गर्दैछन, किन के का लगी खर्च माग्दैछन् भनेर बेलैमा सचेत भएमा दुर्व्यसनीमा नफस्ने प्रहरी नायव महानिरीक्षक पोखरेल बताए ।
कार्यक्रममा सोही सामुदायिक सेवा केन्द्रका अध्यक्ष, सल्लाहकार र काठमाडौं महानगरपलिका वडा २६ का वडा अध्यक्षले मन्तव्य राखेका थिए ।





