काठमाडौँमा धरान सरोकार समाजद्वारा मेयर राई सम्मानित



२७ पुस २०७६, काठमाडौं

‘वादको बिवाद नगरौं, धरानको विकास निर्विवाद गरौं’ भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिलि धरानको बिकास निर्माणमा हतेमेलो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाज काठमाडौँले शुक्रबार काठमाडौँ स्थित सहरी बिकास आयोजनाको हलमा एक कार्यक्रम आयोजना गरि भर्खरै सम्पन्न उप–निर्वाचनबाट धरानमा निर्वाचित भएका मेयर तिलक राईलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रममा धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यले खादा तथा बुकी र सम्मान पत्रले धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गरेका थिए । त्यस्तै धरानका उपमेयर मञ्जु भण्डारीले सोही समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को बिजेता बन्न सफल प्रियारानी लामालाई सम्मान गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरानको बिकासको लागि काठमाडौँमा रहेका धरानेहरु हरेक पल धरान उप–महानगरपालिकाको साथमा रहेको र रहिरहने भन्दै नवनिर्वाचित मेयरले धरानको बिकासमा नयाँ आयाम थप्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै नवनिर्वाचित मेयर तिलक राईले ‘वादको बिवाद नगरौं, धरानको विकास निर्विवाद गरौं’ भन्ने धरान सरोकार समाजको मुलमन्त्रले आफूलाई निकै छोएको बताउँदै धरानको बिकासको लागि धरान सरोकार समाज–काठमाडौँसँग पनि सहकार्य गर्ने बताए ।  मेयर राईले आफुले कसैको निजी स्वार्थका लागि काम नगर्ने र भ्रष्टाचार कुनै हालतमा नगर्ने अठोट उपस्थित धराने समक्ष ब्यक्त गरेका थिए ।

कार्यक्रममा काठमाडौँमा बसोबास गरिरहेका बिशिष्ट धराने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्