
२७ पुस २०७६, कंचनपुर
कंचनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानी मन्त्री बिना मगर थारू पहिरनमा सजिदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए ।
चौधरी समुदायले मनाउने माघी पर्व मेलाको उद्घाटनमा प्रमुख अतिथिका रूपमा खानेपानी मन्त्री मगर कार्यक्रममा सहभागी भएका हुन् । माघी पर्व थारू समुदायको महान चाड हो ।

खानेपानी मन्त्रीको यो पहिरनमा चौधरी थारु समुदायको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । मन्त्री मगरले थारू महिलाहरुले लगाउने गोन्या, ब्लाउज, कालो सल र कानमा सेतो झुम्का लगाएकी थिईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले थारु समुदायको कला, संस्कृति र परम्पराको जगेर्णा गर्न आफु प्रतिबद्ध रहेको बताईन् । देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उनकोे भनाइ थियोे ।

थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री मगरले भनिन्, ‘कंचनपुर जिल्लाको पछाडि परेको दक्षिण भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो । यस अघिका नेतृत्व तथा जन प्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु ।’ ‘यस क्षेत्रमा विकासले गति लिन सकेन भनेर हाम्रो आलोचना भएको सुनेको छु ।’ उनले प्रति प्रश्न गर्दै भनिन्, ‘जनताका अगाडि जे प्रतिबद्धता व्यक्त विकास गरेको छु त्यो पुरा गरेरै छाड्ने हो । विकास मैले नै गर्ने हो । हामी जनप्रतिनिधिले नै गर्ने हो ।’

हुलाकी सडक लगायत अन्य बाटोघाटो, पुल पुलेसा देखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे र केही कामहरु अगाडि बढाइएको समेत उनले स्पष्ट पारिन् ।
बेलौरी भन्सारलाई मुख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको मन्त्री मगरले जानकारी गराईन् । उनले यस क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्वपूर्ण कामहरु अगाडि बढेको समेत बताईन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिईन । उनले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गरिन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका व्यक्तिहरुलाई मन्त्री मगरले सम्मान गरेकी थिईन् ।
कार्यक्रमको उद्घाटन अघि खानेपानी मन्त्री मगर थारू ड्रेसमा झाँकी सहित र्याालीमा सहभागी भएकी थिईन् । कार्यक्रमको आयोजना र व्यवस्थापन थारू कल्याणकारिणी सभा बेलौरीले गरेको थियो ।





