उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह



२६ पुस २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिनुभएन । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्