
२६ पुस २०७६, कञ्चनपुर
खानेपानी मन्त्री बिना मगरले कन्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरेका छन् ।

श्री सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङ्कीको शिलान्यास गरेका हुन् । उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार जनसंख्या लाभान्वित हुनेछन् ।

उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँँ रहेको समितिले जनाएको छ । यो ट्याङ्कीको क्षमता साढे चार लाख लिटर रहेको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताईन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी समेत गराईन् । “खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं ।“ उनले भनिन्, “ खानेपानीसँगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं ।”

उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए । उनले आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए ।

यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताईन् ।
शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील रहेको उल्लेख गरिन् ।

मन्त्री बिना मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसँग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताईन् ।





