विप्लव समूहको पोलिटब्यूरो सदस्य नेकपामा प्रवेश



२६ पुष २०७६, काठमाडौं

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ नेकपामा प्रवेश गरेका छन्।

शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई पार्टी प्रवेश गराएका हुन्। सोही कार्यक्रममा सीता कार्की पनि नेकपामा प्रवेश गरेकी छिन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्। ‘अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्। हामी सबैको उद्देश्य समाजवाद हो। देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ।’ प्रचण्डले भने, ‘अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन। म समयमै एकीकृत हुन आग्रह गर्दछु।’

पार्टी प्रवेश गरेका जीवन्तले नेकपाले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्