यती समूहको निर्माणाधीन भवन रोक्न उच्च अदालतको अन्तरिम आदेश



२५ पुष २०७६, काठमाडौं

उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न अन्तरिम आदेश दिएको छ।

यती समूह र नेपाल ट्रष्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणाधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको हो। शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता परिवर्तन राईले गत २३ पुषमा दर्ता भएको रिट निवेदनउपर सुनुवाई गर्दै अन्तरिम आदेश दिएको हो।

अदालतले दुवै पक्षलाई १ माघमा छलफलका लागि बोलाएको छ। प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभिन्न मन्त्रालय, नेपाल ट्रष्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।

राईले दर्ता गरेको रिटमा मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रष्टले ३० वर्षका एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएपछि राज्यलाई पाँच अर्ब नोक्सान हुने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्