थुलुङ दुधकोशी गाउँपालिकामा घुम्ती शिविर: ६०० जनाले लिए आफ्नै आँगनबाट सरकारी सेवा



२५ पुष २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका ५७२ जना गाउँपालिकावासीहरुले आफ्नै आँगनबाट सरकारी सेवा लिएका छन्।

भौगोलिक रुपमा सोलुखुम्बुकै सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिकाले संचालन गरेको घुम्ती शिविरबाट आफ्नै आँगनमा ५७२ जना गाउँपालिकावासीहरुले सरकारी सेवा लिएका हुन्।

गाउँपालिका केन्द्रसम्म आएर सेवा लिन नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतलाई आँगनमै पुगी अपाङ्गता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्रलगायतका गाउँपालिका स्तरमा प्रदान गरिने सरकारी सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

“हामीले जनताकै सेवाको लागि भनेर चुनावताका मत अपिल गरेका थियौं।” गाउँपालिका अध्यक्ष असिम राईले परिवर्तन खबरलाई भने, ‘तसर्थः हामी यो समय जनताकै सेवा अनि सुविधाका लागि जुटिरहेका छौं।’

घुम्ती शिविरलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राई

शिविरमा १०० जनाले अपाङ्गता परिचयपत्र लिएका छन्। यस्तै ३०४ जनाले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन् भने, सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता तथा लागत कट्टा १२५ जनाले पाएका छन्।

पहिलो चरणको शिविरअन्तर्गत ९ नम्बर वडा लोखिम, ४ र ५ नम्बर वडा जुबु र गाउँपालिका केन्द्रसमेत रहेको ६ नम्बर वडा मुक्लीमा संचालन भएको अध्यक्ष राईले जानकारी दिए।

आँगनबाटै सेवा सुविधा लिन पाएपछि गाउँपालिकावासीहरु हर्षित भएका छन्।

प्रतिक्रिया दिनुहोस्