नेकपा संसदीय दलको निर्णयः प्रदेश नं. ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै



२५ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं. ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा नै राख्ने निर्णय गरेको छ।

शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशन अनुसार राजधानी हेटौंडा र नाम बाग्मती नै राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन्।

तर पार्टी केन्द्रको यस्तो निर्देशनप्रति असहमत सांसदहरुले भने आफ्नो फरक मत पेश गरेका छन्। ‘पार्टी सचिवालयको निर्देशन यताउती नगरौँ भन्ने भयो, तर केही साथीहरुले यो ऐतिहासिक महत्वको विषयमा फरक मत दर्ज गर्ने भन्नुभएको छ।’ इन्चार्ज शाक्यले भनिन्।

प्रदेशसभाको बैठकमा पनि यो निर्णयमा असहमत सबै सांसदहरुलाई आफ्ना धारणा राख्न दिने सहमति भएको उनको भनाई छ। नेकपा सचिवालयले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्