बाल अधिकारबारे गण्डकी प्रदेशमा संसदीय अन्तरसंवाद



२४ पुस २०७६, काठमाडौं

बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे एक दिने अन्तरसम्बाद कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध समेत गराउनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी उपसभामुख सृजना शर्माले बालबालिकाबारे उचित नीति बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताईन् ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले बालबालिकाको पक्षमा लगानी वृद्धि गर्न तर्फ ध्यान पुर्‍याउन सबै पक्षलाई आग्रह गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले गण्डकी प्रदेश सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी बाल अधिकारकर्मी मिलन धरेलले बाल अधिकारका क्षेत्रमा आवश्यक विभिन्न नीतिहरु तर्फ ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य ओमकला गौतम, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयकी नीतु गर्ताैलाले समेत आफ्नो धारणा व्यक्त गरेका थिए ।

स्वतन्त्रता अभियान, जागृति बाल तथा युवा सरोकार नेपाल, यात्रामा रहेका बालबालिका (ड्युकम), बाल मैत्री स्थानिय शासन राष्ट्रिय मञ्च, किशोरी अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल लगायतका संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा प्रदेश सभाका १० जना सांसदहरुले भाग लिएका थिए ।

करिब पाँच दर्जन सहभागी रहेको कार्यक्रममा बाल विवाह, बालबालिकाहरुको जन्म दर्ता, बाल श्रम, बाल संरक्षण, बालबालिकाहरुको सामाजिक सुरक्षा, बालबालिका सम्बन्धी ऐन निर्माण तथा कार्यान्वयन, बाल मैत्री स्थानीय शासन अवलम्बन, किशोरी सशक्तिकरण लगायातका विषयहरुमा सहभागीहरुले आफ्नो अभिमत राखेका थिए ।

कार्यक्रम स्वतन्त्रता अभियानकी अध्यक्ष चन्द्रकला शर्माको अध्यक्षता, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको सहजिकरण तथा राष्ट्रिय बाल संरक्षण सञ्जालकी अध्यक्ष ऋतु भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्