‘नेपाल नघुमे जीवन सार्थक हुँदैन’



२४ पुष २०७६, काठमाडौं

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पहिलो लेबनानी महिला फतिमा डेरयानले नेपाल नघुमे जीवन सार्थक नहुने बताएकी छिन्।

नेपाल भ्रमण वर्ष २०२०लाई सम्बोधन गर्दै फतिमाले जीवनकालमा एकपटक नेपाल घुम्नैपर्ने बताएकी हुन्। फतिमाले सगरमाथा चढेको दिन आफूले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भएको पनि उल्लेख गरेकी छिन्।

सगरमाथाको आरोहण गर्ने बेलामा आफूलाई शेर्पा दाजुभाईहरुले गरेको सहयोग सम्झिँदै उनले नेपालीहरु कति सहयोगी भावनाका हुन्छन् भन्ने आफूले राम्रोसँग थाहा भएको स्मरण गर्दै सम्पूर्णलाई नेपाल घुम्नको लागि आग्रह समेत गरिन्।

नेपाल पर्यटन वर्षको अवसरमा यूएइ सरकारका उच्च पदस्थ अधिकारी तथा यूएइमा रहेको विभिन्न क्षेत्रका विदेशी प्रतिनिधिहरुको उपस्थितिमा नेपाली दूतावास यूएइले मंगलबार साँझ आबुधाबीमा गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रित फतिमालाई नेपाली दूतावासले सम्मान समेत गरेको थियो।

कार्यक्रममा यूएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फतिमालाई नेपाली कोसेली तथा चिनोसहित सम्मान गरेका थिए। नेपाल भ्रमण वर्षको अवसरमा नेपाल पर्यटन बोर्डले निर्माण गरेका वृत्तचित्र, फोटो प्रदर्शनी, सुदूरपश्चिमको छलिया नाच, कुमारी नाचसमेत प्रस्तुत गरिएको थियो।

नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नेगरी आयोजित कार्यक्रममा नेपाल भ्रमण गर्ने लक्षित समुदाय अन्तर्गत विश्वविद्यालय, होटल तथा पर्यटन व्यवसायी, एयरलाइन्स, विदेशी लगानीकर्ता तथा नेपाली समुदायका प्रतिनिधिहरुसमेत गरेर झन्डै एक सय जनाको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्