किन लाग्छ ! जाडोयाममा नै बढी रुघाखोकी ? यसो भन्छन्, डा. दत्त



२३ पुष २०७६, काठमाडौं

काठमाडौं उपत्यकासहित देशभर अत्याधिक चिसो बढेको छ।

मौसम धुम्मिएको छ। कठ्याग्रिने चिसो छ। छिटपुट पानी परेको छ। कहीँ–कतै हिमपात पनि सुरु भइसकेको छ।

दिन–प्रति दिन जाडो यामले छोपिसकेको छ। चिसो बढेसँगै केही स्वास्थ्य समस्या पनि देखा पर्दछ। साथ–साथै कतिपय अवस्थामा दैनिक जीवन कष्टकर पनि बन्छ। यद्यपि यो मौसममा केही सावधानी अपनाउने हो भने आफूलार्ई फिट एन्ड फाइन राख्न सकिन्छ।

चिसोको सुरुवातसँगै तापमान घट्ने भएकाले धेरै मानिसमा रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी खप्प बस्ने इत्यादि समस्या उत्पन्न हुने चिकित्सकहरु बताउँछन्।

भाइरल तथा चिसोका कारण धेरैलाई यस्तो समस्या हुन्छ। जाडो मौसममा प्रायः जसो लामो समयसम्म रुघाखोकी लाग्छ भने निको हुन पनि धेरै नै समय लाग्न सक्छ।

उचित रेखदेख गरी न्यानो रहँदै तातो खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ भने कतिपय अवस्थामा औषधि नै सेवन गर्नुपर्ने सम्बन्धित विज्ञहरु बताउँछन्।

विशेष गरि यो चिसोमा बालबालिका र वृद्धवृद्धाको निकै ख्याल राख्नुपर्ने हुन्छ। प्रत्येक वर्ष चिसोकै कारण धेरैले ज्यान गूमाउनु परेको तितो यथार्थ हामीमाझ छ।

चिसो शुरु हुनसाथ मौसममा आएको परिवर्तनका कारण सबैभन्दा बढी सताउने भनेकै रुघा–खोकी हो। त्यसैले, आज हामी त्यहीँ बिषयमा रहेर चर्चा गर्नेछौँ।

चिसो समयमै रुघा–खोकी लाग्नका कारण सहित यसबाट कसरी बच्ने? लगायत् यी यावत् विषयलाई लिएर मैले काठमाडौंस्थित ‘सेचेन हस्पिटल’ का फिजिसियन डा.राज दत्तसँग गरिएका केही ज्ञानवद्र्धक कुराहरु पस्केको छु।

के हो रुघाखोकी?

रुघा एक सरुवा रोग हो। यो दुषीत हावा,पानी इत्यादिका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो।

रुघा लाग्नुको मूख्य कारण नै कम पानी पिउनु, गलत खानपान, कम व्यायाम, तनाव, निन्द्रा हो।

रुघाखोकीको लक्षणः

रुघा लागिसकेपछि नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक, आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस–खस हुने, कान दुख्ने, टाउको दुख्ने, शरिर गल्ने जस्ता लक्षणहरु देखिन्छन्।

चिसोमा नै बढी रुघाखोकी लाग्नुको कारणः

जाडोयाममा शरिरलाई भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ। रुघाखोकी मात्रै नभएर रुघाखोकीसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकमा बढी डिस्चार्ज (नाकबाट कुनै प्रकारको तरल पदार्थ आउनु वा बग्नु) आउने र नाक बन्द हुने हुन्छ।

घाँटीमा टन्सिलको समस्याले स्वास फेर्न गाह्रो भएजस्तो हुन्छ। कसै- कसैलाई दमको समस्या पनि अलि बढी हुने गर्छ। शरीरले एक्कासी चिसो सहन सक्दैन,जसले गर्दा जाडो समयमा भाइरसको किटाणु अलि बढी लाग्ने गर्छ।

यसको धेरै अध्ययन त भइसकेको छैन तर जाडोमा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई भाइरलले अलि चाडो आक्रमण गर्छ। रुघाले नाकलाई मात्रै अप्ठ्यारो पारेको हुँदैन।

यसले कानमा पनि समस्या पार्छ। कानको सुन्ने शक्तिमा समेत अप्ठ्यारो पार्न सक्छ। रुघाखोकी लाग्दा ज्वरो आउने, खानेकुरा निल्न गाह्रो हुने अनि ज्यान करकर खाने हुन्छ।

के गर्ने रुघाखोकी लाग्दाः

रुघा–खोकी कुन खालको त्यस्को आधारमा उपचार गर्नुपर्दछ। कोही बिरामी हुन्छन्, जसलाई सधैँ रुघा लाग्छ भने त्यो एलर्जीले हो।

धुलो,ढुसी चिसोले अनि कसैलाई फूलको एलर्जी, कुकुर बिरालोको एलर्जीले सधैँभरि रुघा लाग्ने हुन्छ। यसका लागि जे बाट एलर्जी भएको हो,त्यहीबाट बच्नु नै पहिलो उपाय हो।

हाम्रो समाजमा जतासुकै मेडिकल छन्। ज्वरो र रुघामा सिटामोल खानु सामान्य हो। तर त्योभन्दा बाहेक एन्टिबायोटिक खाइन्छ।

बच्चाहरूलाई कडा औषधि खुवाउने,झोल औषधि अनि भिटामिन पनि दिइन्छ। यसले बिरामीको स्वास्थ्यमा असर पार्छ नै बच्चाहरूलाई पनि झन् समस्या हुन्छ।

त्यस्तो भयो भने बिरामीलाई कडा भन्दा कडा एन्टिबायोटिक खुवाउन पर्दछ।

कस्तो खानपान नगर्नेः

-यस्तो बेला तारेका खानेकुरा खानु हुँदैन।

-फ्रिजमा राखिएका चिसो खानेकुरा तथा आइसक्रिम पनि सेवन गर्नुहुँदैन।

-एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ।

-खोकी लागेको बेलामा जंक फुड खानुहुँदैन। किनभने, त्यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ।

तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ। बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले रुघाखोकी निको पार्छ।

-नियमित रूपमा तातो पानी पिउनुपर्दछ। तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन।

कस्तो खानपान गर्नेः

-प्रशस्ता मात्रामा तातो पानी पिउनुहोस्।

-एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ।

-तुलसी, पुदिना तथा मरिच हालेर उमालिएको पानी पिउँदा पनि घाँटीको खसखस कम हुन्छ।

– नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ।

-दालचिनी र जाइफल बराबर मात्रामा पिसेर बिहान–बेलुकी महसँग खाए रुघाखोकी टाढै रहन्छ।

– तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ। बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले रुघाखोकी निको पार्छ।

-चियाको मात्रा घटाउनुपर्ने हुन्छ। हर्बल–टी पिउँदा भने फाइदाजनक नै हुन्छ।

-यदि तपाईं फ्लुबाट ग्रसित हुनुहुन्छ भने फलफूल र तरकारीको प्रयोग गर्न पनि छुटाउनु हुँदैन।

-यस्तो समस्याबाट छोटो समयमै मुक्त हुन तातो पानीमा मह राखेर पनि खान सकिन्छ।

-अदुवापानीको प्रयोग पनि उत्तम मानिन्छ।

-यस्तो अवस्थामा दूध तथा दूधजन्य पदार्थको सेवन बढाउन जरुरी हुन्छ।

-यस्तो अवस्थामा ठोस पदार्थको अत्यधिक सेवनले समस्यालाई लम्ब्याउन सक्छ। त्यसैले नरम तथा निल्न सजिलो हुने खानेकुराको प्रयोगमा जोड दिनुपर्ने हुन्छ।

-भिटामिन सीयुक्त खाना तथा फलफूलको प्रयोग बढाउनुपर्छ। सुन्तला, कागती, अम्बा, काउली, टमाटर, हरियो सागपात, बदाम, अन्डा आदिको प्रयोगले रुघाखोकी छोटो समयमै निको हुन सहयोग पुर्याउँछ।मरिचको धूलोमा मह मिसाएर खाए फाइदा हुन्छ।

रुघा–खोकी लागेको थाहा पाउने बित्तिकै के गर्ने?

-रुघाको लक्षण देखिनासाथ पर्याप्त मात्रामा तातो पानीको सेवन गर्नुहोस्।

-बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५ देखि १० मिनेट राख्नुहोस्।

-सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्नुहोस्।

-अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्चा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्नुहोस्।

-अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्नुहोस्।

-यस्तो अवस्थामा शरिरलाई आरामको आवश्यकता पर्छ। त्यसैले, शरिरलाई चिसोबाट बचाउँदै न्यानो राख्नुहोस्।

-नाक बन्द भएको अवस्थामा मनतातो नुनपानीले नियमित सफा गर्नुहोस्।

बच्ने तरिकाः

-रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखा-मुख हुने गरी कहिल्यै बस्नुहुँदैन। बस्नै पर्ने बाध्य भए मुख र नाक छोप्ने गरि मास्क लगाउनु पर्छ।

-रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सर–सामान र लुगा प्रयोग गर्नुहुँदैन।

-विशेषगरि बाटोमा हिड्दा समेत धुलोबाट जोगिनेगरि अलि बाक्लो मास्क लगाएर मात्रै हिड्नुहोस्।

-अमला, कागतीजस्ता भिटामिन ‘सी’ भएका र मौसमी फलफूलको प्रयोगले शरिरमा भिटामिन ‘सी’ को आपूर्ति हुनसक्छ।

-भिटामिन ‘सी’ले शरिरको रोगसँग लड्ने शक्ति बढाउँछ।

-चिसो, धुवाँ र धुलोबाट बच्नुहोस्।

-तातोपानी प्रयोग गर्नुहोस्।

-नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरिर मालिस गर्ने र मनतातो पानीले नुहाउनुहोस्।

-सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्