
२२ पुस २०७६, काठमाडौं
गुल्मी इस्मा गाउँपालिका–३ सिमपानीमा दुई बुहारी मिलेर सासुको हत्या गरेका छन् ।
दुई बुहारी देवी र लक्ष्मी मिलेर ७६ वर्षीया सासु कौशीला बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिएका छन् । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासुको हत्या गरेको डीएसपी घलेको भनाइ छ ।
गोरु फुकेको भन्दै कौशीलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाई नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासु घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पुर्याएका थिए । कौशीलाको उपचारकै क्रममा गत १९ गते मृत्यु भयो ।
मृतकको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताए । अहिले दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।





