‘जनताले विश्वासका साथ दिएको जिम्मेवारी पुरा गर्छु’ : वडाध्यक्ष राजेन्द्र खड्का



२२ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले निर्वाचनताका जनता माझ दिएका आश्वासन पुरा गर्दै आएका छन् । वडाध्यक्ष खड्का भन्छन्, ‘जनताले विश्वासका साथ दिएको जिम्मेवारी ईमान्दारीपूर्वक पुरा गर्छु यसमा म आफै सतर्क छु । वडावासीको साथ सहयोगले नै आज यहाँ छु उहाँहरुकै विश्वासमा अगाडि बढ्छु ।’

सामान्य किसान परिवारमा जन्मिएका राजेन्द्र खड्का पिता विष्णु बहादुर खड्का र स्वर्गीय माता मिनु खड्काको कान्छो छोरा हुन् । उनको जन्म चपली भद्रकाली वडा नं ९ कचगालमा २०२७ साल मंसिर १ गते भएको थियो ।

घर नजिकैको गणेश स्कूलबाट आफ्नो प्रारम्भिक शिक्षा शुरु गरेका खड्का सोही विद्यालयबाट आफूले २०४६ मा एसएलसी उतिर्ण गरेको बताउँछन् । त्यसपछि बालाजु टेक्निकल ईन्स्टिच्युटबाट ईलेक्ट्रिकल अध्ययन गर्दै आफ्नो सङ्घर्षका साथै सामाजिक कार्यमा अगाडी बढेको बताउछन् । वडाध्यक्ष राजेन्द्र खड्कालाई २०५० मा माडवारी सेवा समितिमा रहेर ३ वर्ष सेवा गर्ने अवसर प्राप्त भयो, उनले भने, ‘२०५४ मा तत्कालिन नेकपा एमालेको संगठित सदस्य भई स्थानीय निर्वाचनमा चपली वडा नं ९ को वडाध्यक्ष भएर जनतामाझ धेरै काम गर्ने अवसर पाएँ ।’

२०५६ सालबाट चपली गाउँ पार्टी कमिटीमा आवद्ध भएका वडाध्यक्ष खड्काले २०६० मा युवा संघ क्षेत्र नं ३ काठमाडौंको सदस्य, ०६५ मा नेकपा एमाले उत्तरी गाउँ पार्टी ईलाका कमिटी सदस्य, ०६८ बाट नेकपा चपली गाउँ पार्टी कमिटीको अध्यक्ष भई संगठन विस्तारमा निरन्तरता दिए ।

विभिन्न सामाजिक काममा निकै सक्रिय खड्काले ०७४ को स्थानीय निर्वाचनमा जनतामाझ २५ वुँदे घोषणा पत्र जारी गर्दै निर्वाचित भए । निर्वाचनताका जनतामाझ गरेका प्रतिबद्धता मध्ये वडाध्यक्ष राजेन्द्र खड्काले १५ वटा पुरा गरी सकेका छन् । बाँकी १० प्रतिवद्धता छिट्टै पुरा गर्नेमा उनी आफैँ सचेत छन् ।

शिवपुरी नागीगुम्बादेखि संयुक्त बसपार्कसम्म लाम्चो आकारमा फैलिएको भू–भाग भएपनि बस्ती विकास तिब्र गतिमा बढेको समेत जानकारी गराए । बूनपा २ मा १४ सय घरधुरी छन् भने ६५ सय भन्दा वढीको बसोवास रहेको छ । प्राय सबै बस्तीमा मोटरबाटो पुगेका छन् । वडाभित्र ५० प्रतिशत र ढलसहितका सडक निर्माण भएका छन् भने बाँकी निर्माणाधिन अवस्थामा रहेका छन् ।

नगरबाट वार्षिक २ करोडका योजना समावेश छन् त्यतिले मात्र पर्याप्त छैन वडाध्यक्ष खड्काले भने, ‘नगरबाट मात्र नभई केन्द्रिय र प्रदेश सरकारको सहयोगमा निर्माणाधिन अवस्थामा छन् । दुई दशकपछि भएको स्थानीय चुनावका कारण नागरिकको अपेक्षा अनुसार काम गर्न नसक्नु स्वभाविक हो गुनासा आए मात्र हामी सचेत हुन्छौं ।

खानेपानी
प्रत्येक वडावासीको घरमा पानी सहितको धारा उपलब्ध गराउने प्रतिबद्धता अनुसार धोविढुङ्गा खानेपानी आयोजनाले बूढानीलकण्ठ नगरपालिका वडा नं २ र वडा नं ८ का केही बस्तीमा पानी सहितको धारा वितरण गर्दै आईरहेको छ ।  उनी भन्छन्, ‘गत वर्ष ५ लाख बराबरको फिल्टर ट्याङ्की निर्माण सम्पन्न भएको छ । अब सबै बस्तीमा पाईपलाईनको विस्तार धमाधम भईरहेको छ । अहिलेसम्म ८ सय घरमा धारा जडान गरिएको र बाँकी घरधुरीमा जडान गर्दै जाने योजना तिब्र तयारीमा रहेको समेत उनले बताए ।

शैक्षिक पाटो
बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा एकमात्र सामुदायिक विद्यालय र क्याम्पस संचालनमा छ, त्यसलाई आवश्यक सहयोग वडाबाट गरिहेको छौं ।  वडाभित्र रहेको ५ वटा नीजि विद्यालयको गुणस्तर बृद्धिका लागि पनि नियमित अन्तरक्रिया कार्यक्रम गरिरहेको वडाध्यक्ष खड्काले जानकारी गराए ।

स्वास्थ्य
चपली स्वास्थ्य चौकी मार्फत बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेका सम्पूर्ण वडावासीलाई विगत देखिनै सहज भएको छ । सोही स्वास्थ्य चौकी मार्फत बालबालिकालाई खोप समेत वितरण गरिदै आएको वडाध्यक्ष खड्काले बताए । १६ जना स्वयम्सेवीकाहरुको सहयोग लिई प्रत्येक महिनाको २ पटक गाउँघर क्लिनिक मार्फत स्वास्थय सेवा प्रदान गरिदै आएको छ । चेकजाँचका लागि पर्याप्त उपकरण नभएका कारण चेकजाचमा केही समस्या छ, त्यसलाई समाधान गर्न विभिन्न निकाय मार्फत पहल गरिरहेका छौं ।

पार्क निर्माण
काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत कालिका पार्कको निर्माण थालनी गरिएको छ । नगर र वडाको लगानीमा ज्येष्ठ नागरिक पार्कको जग्गा संरक्षण गरी पूर्वाधार निर्माणको लागि डिपिआर तयार पारिएको छ । रुद्रेश्वरको ४० रोपनी जमिनमा ईको पार्क निर्माणका लागि समेत डिपिआर तयार गरिदैछ । यसको साथै वडाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण अभियानलाई समेत तिब्रता पारिएको छ ।

भावी योजना
बूढानीलकण्ठ नगरपालिका वडा नं. २ भित्र स्तरीय विद्युत सेवा प्रदान गर्न सबै काठका पोल बिस्थापित गरी स्टिल पोलमा रुपान्तरण गरिदै छ । धोवीखोला करिडोर क्षेत्रमा सुविधा सम्पन्न अर्गानिक तरकारी बजारको स्थापना गरी स्थानीय किसानहरुलाई अर्गानिक उत्पादन बढाउन समेत प्रोत्साहन गरिनेछ ।

आफ्ना चुनावी प्रतिवद्धता पुरा गरी वडावासीले दिएको पाँच वर्षे जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्ने वडाध्यक्ष राजेन्द्र खड्काले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्