कांग्रेस जिल्ला सभापतिहरुको एउटै स्वरः ‘११ पुषको निर्णय फिर्ता गर’



२१ पुष २०७६, काठमाडौं

नेपाली कांग्रेसका ४७ जिल्लाका सभापतिहरूले संस्थापन पक्षले ११ पुषमा गरेको निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।

कांग्रेसको संस्थापनइतर समूहको आयोजनामा सोमबार काठमाडौंमा शुरू भएको जिल्ला सभापतिहरूको भेलामा सहभागीले यस्तो माग गरेका हुन्।

११ पुषमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन अर्को वर्षको फागुनमा गर्ने निर्णय गरेको थियो। बैठकले कांग्रेसको विधानका कतिपय धारा समेत निलम्बन गरेको थियो।

संस्थापनइतरका नेताहरूले त्यो बैठक बहिष्कार गरेका थिए। संस्थापनइतरको नेतृत्व कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्। “४७ जिल्लाका सभापतिहरूले एक स्वरमा ११ पुषको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्”, नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी भने, “१४औं महाधिवेशनको कार्यतालिका पनि सर्वसम्मत रूपमा तय हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ।”

सभापतिहरुको भेला २२ पुषसम्म चल्ने र थप चार जिल्लाका सभापति पनि भेलामा सहभागी हुने केसीले बताए।

प्रतिक्रिया दिनुहोस्