कपन क्षेत्रमा मेलम्ची खानेपानी आयोजना जनवरी २० देखि शुरु हुँदै (भिडियो सहित)



Melamchi Khanepani

२१ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको कपन लगायतका क्षेत्रमा बिस्तार गरिन लागेको मेलम्ची खानेपानी परियोजनाको सम्पर्क कार्यालय विधिवत रुपमा हिजोबाट कपन आकाशेधारामा शुरु गरिएको छ ।

स्थानीय जनगुनासोलाई तत्काल समाधान गर्न सहजीकरण गर्ने उद्देश्यले स्थापना गरिएको कार्यालयमा आयोजना निर्देशनालय प्रमुख ई. भोजविक्रम थापाले निर्माण ठेकेदार शैलुङ्ग कन्स्ट्रक्सनका प्रतिनिधिलाई निर्देशन दिदै तयारी, स्रोतसाधन र योजनाको आधारमा तोकिएको समयभित्रै जनवरी २० देखि कपन क्षेत्रमा खानेपानी पाईप विस्तार गर्नुपर्ने बताए ।  त्यसैगरी उनले परियोजना कार्यान्वयनका लागि आवश्यक ईन्जिनियर थप्नुपर्ने भएमा सो को व्यवस्था समेत गर्ने बताउँदै पाईप बिस्तारको क्रममा काटिने पानीका पाईप तथा ढलहरुको तत्काल व्यवस्था गर्न समेत निर्देशन दिए ।

छलफलमा बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले खानेपानी पाईप विस्तार गर्दा सम्बन्धित वडाका प्रतिनिधि र स्थानीय टोल सुधार समितिका प्रतिनिधिहरुसँग अग्रिम छलफल तथा समन्वय गरी अगाडि बढनुपर्ने बताए । त्यस्तै १२ का वडाध्यक्ष शम्भु भट्टराईले उपत्यका खानेपानी परियोजनाले झैं खाल्डो खन्दै छोड्दै गर्नुभन्दा बरु थप समय लिएर उचित काम गर्नुपर्नेमा जोड दिए ।

समाजसेवी तथा उपभोक्ता शान्तिराम ढुङ्गानाले आफ्नो धारणा राख्दै काटिएका पाईप तथा विग्रिएका ढलहरु तत्काल बनाउनुपर्ने र जुन टोलमा पाईपलाईन खनिन्छ त्यहाँका जनप्रतिनिधि र टोल विकास संस्थासँग समन्वय गरेर मात्र काम अगाडि बढाउन सुझाव दिए ।

सामुदायिक सचेतना तथा सुरक्षण सहयोग परामर्शदाता टोली संयोजक रामकृष्ण गिरीले परियोजना सुरुहुनुभन्दा अगाडि प्रत्येक टोल र वडाका जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीसँग समन्वय गरेर मात्र अगाडि बढ्ने बताए ।

छलफलमा बूनपा १० का कार्यवहाक अध्यक्ष चन्द्रमान श्रेष्ठ, निर्माण अनुगमन ईन्जिनियर ईन्द्रबिलास खनाल, वडा सदस्य भुवप्रसाद रेग्मी, शैलुङ्ग कन्स्ट्रक्सनका प्रमुख लभ मल्होत्रा, प्रोजेक्ट म्यानेजर लक्ष्मण महर्जन लगायत अन्य प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस् :

डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)

डा. राजन भट्टराईको सपना साकार हुँदै

कपन क्षेत्रमा अबको २२ महिनाभित्र पानी आउनुपर्छ, कुनै बहानाबाजी चल्दैन : डा. राजन भट्टराई

कपनमा पानी सम्बन्धि पहिलो बहस : अल्पकालीन र दीर्घकालीन समस्या समाधान गरिने

प्रतिक्रिया दिनुहोस्