अमेरिकालाई प्रत्यक्ष रुपमै आक्रमण गर्ने सोलेमानीकी छोरीको चेतावनी



२१ पुष २०७६, काठमाडौं

अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा विशाल जनप्रदर्शन थियो।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौं हजार मानिस उनलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी भए। सोलेमानीको अन्त्येष्टिको क्रममा इरानी सर्वोच्च नेता अयातोल्याह अली खमेनीले आँशु नै झारे।

तेहरानस्थित सोलेमानीको अन्त्येष्टिको दोस्रो दिन तेहरानमा भेला भएका दशौं हजार मानिसको बीचमा खमेनी रोएका हुन्। यस्तै सोलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रुपमा आक्रमण गर्ने भन्दै चेतावनी दिएकी छिन्।

‘मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाईमा समय बिताइरहनेछन्।’ जेइनपले भनेकी छिन्। शोकसभाकै क्रममा उनले मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आक्रमण गर्ने चेतावनी दिएकी हुन्।

सम्बोधनको क्रममा उनले भनेकी छिन्, ‘पागल ट्रम्प मेरो बुवाको शहादत्सँगै सबै समाप्त भयो भनेर नसोच!’ इरानी कमाण्डर सोलेमानी गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलामा मारिएका थिए।

यससँगै इरान र अमेरिकाबीचको द्धन्दले तीब्र रुप लिएको छ। इरानले सन् २०१५ को आणविक सम्झौताबाट पछि हटेको भन्दै अमेरिकासँग बदला लिने चेतावनी दिँदैआएको छ। अमेरिकाले पनि इरानले आक्रमण गरेको खण्डमा आफूले जवाफ दिने भन्दै ५२ स्थानलाई निशाना बनाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्