कांग्रेस केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षधर जिल्ला सभापतिको भेला



२१ पुष २०७६, काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरूको भेला शुरु भएको छ।

सभापति शेरबहादुर देउवासँग देखिएको पछिल्लो विवादबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिको भेला डाकेका हुन्। भेलामा ४० जनाभन्दा बढी जिल्लाका सभापतिहरूहरुको सहभागिता रहेको छ।

पूर्वमहामन्त्री सिटौला भने भेलामा आएका छैनन् तर उनी पक्षधर केन्द्रीय सदस्यहरू भने उपस्थित छन्। देउवाले गत ११ पुषमा बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन्।

गत २६ मंसिरदेखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन्। सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रूपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका सिटौलाले माग गर्दै आएका छन्।

सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन सोमबार जिल्ला सभापति भेला राखिएको हो।

प्रतिक्रिया दिनुहोस्