ओली–प्रचण्डबीच छलफलः सभामुख चयनमा सहमति जुटाउने प्रयास



२१ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ।

सभामुख चयन छलफलको मुख्य एजेण्डा भएको बताइएको छ। अध्यक्षद्वयबीच सुवासचन्द नेम्वाङ वा अग्नि सापकोटालाई सभामुख बनाउने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय भने हुन नसकेको स्रोतले बतायो।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन चाहेका छन्।

दुई अध्यक्षबीच भोलि फेरि छलफल गर्ने र सहमति भएमा तत्काल सचिवालय बैठक बोलाउने तयारी छ। स्रोतले भोलिको भेटवार्तामा सहमतिको सम्भावना रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्