
२० पुस २०७६, काठमाडौं
चर्चित लोक तथा दोहोरी गायक/गायिकाहरुको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
उक्त गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको रहेको छ भने गीतको निर्माता भने रमेश धरेल हुन् । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ । गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेकी सांसद कोमल वलीले गीतका रचनाकार बानियाँलाई यो गीतले चर्चाको शिखरमा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्,‘उहाँ एक दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँले गीत–संगितमा निरन्तरता दिनुभएको छ । उहाँ संघर्षशील गायक हो । गाउँघरका दुःख र पीडाका कुरा गीतमार्फत बाहिर ल्याउँदै आउनुभएको छ । यो खुशीको कुरा हो ।’
‘शून्य भयो गाउँ र घर, गर्नै छाडे खेती’ बोलको गीत आफूले राजकुमार बानियाँ र पशुपति शर्मासँगै गाएको स्मरण गर्दै त्यो गीतपनि धेरै राम्रो बनेको बताईन् । उनले भनिन्,‘यो गीतले राजकुमार भाईको सांगितिक यात्राको उचाईमा पुर्याउन मद्दत गर्नेछ ।’





