एक महिने शालिनदी मेलाको विशेष तयारी (फोटो फिचर)



१९ पुस २०७६, काठमाडौं

पुस २४ गतेबाट माघ २५ गतेसम्म विगत देखि मनाउदै आएको श्री माधवनारायाण स्वस्थानी ब्रत तथा शालिनदी एक महिने मेलाको विशेष तयारी भईरहेको छ ।

करिब २५ लाख भक्तजनको अनुमान गरिएको १ महिने शालिनदी मेलामा शान्ति सुरक्षा, सवारी पार्किङको व्यवस्था, खानाको मुल्य तथा बस भाडामा एकरुपता कायम गर्न मेलाको विशेष तयारी गरिएको हो ।

शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले हाल चाबहिल–जोरपाटी हुदै साँखु आउने मूल सडक हाल अव्यवस्थित रहेको जानकारी गराए । सडकको समस्या समाधान गर्न तत्काल सडक विभागको सहयोगमा मर्मत गरी आवतजावत गर्न सहज बनाईने प्रतिबद्धता जनाएका छन् ।

नगर प्रमुख श्रेष्ठले समयानुकूल केही परिवर्तन गरिएको भएतापनि मूल रुपमा यसमा गरिनुपर्ने १ महिने ब्रत पूजा उपासना एवं व्रम्ह मुहुर्तमा स्नान गर्न जाडोका कारण कठिन हुने भन्दै यसको संरक्षणका निम्ति ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठले पहिले ब्रतालुहरुका सामग्रीहरु परदेश जाने क्रममा (फर्पिङ, पशुपति, पनौति र चाँगु) जाँदा आफैले बोक्नु पर्ने स्मरण गर्दै यस वर्षबाट समितिले ब्रतालुहरुको सामग्री लगिदिने र ल्याईदिने व्यवस्था गरिएको बताए ।

मूल्य सूची राखि होटलहरुको अनुगमन, माग्नको लागि बस्नेहरुलाई समेत स्थान विशेषको व्यवस्था, मेलामा राखिएका पसलहरुलाई व्यवस्थित गराईने समेत कार्यक्रम संयोजक विजयकृष्ण भाष्करले जानकारी दिएका छन् ।

शनिवार साँखुमा पत्रकार सम्मेलन गर्दै ब्रतालुहरु बिरामी हुँदा स्टेचरको व्यवस्था, शान्ति शुरक्षामा चुस्त रहेको र विभिन्न कार्यहरु सहजताकोलागी स्वयमसेवकहरुको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ । महासचिव एलपी श्रेष्ठले कार्यक्रमबारे जानकारी गराउँदै विगतका वर्ष भन्दा यो वर्ष भव्य रुपमा समापन गर्ने तयारी गरिएको बताए ।

समितिका विजयकुमार भाष्करले कार्यक्रमको जानकारी गराउदै पसलहरुमा मूल्य सूची राखि अनुगमन गरिने, बस भाडा देखिने गरि बसमा र विभिन्न सार्वजनिक स्थानमा टाँसिने जनाए । नगर प्रमुख सुवर्ण श्रेष्ठ, आयोजक टिम र संचारकर्मीहरुले सम्मेलनपछि शालिनदी क्षेत्रको स्थलगत अवलोकन भ्रमण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्