मध्य पहाडी लोकमार्गमा अप्किल फाइबर नेटवर्क विस्तार गरिदै



१९ पुस २०७६, विराटनगर

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदुरपश्चिम प्रदेशहरू अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्किल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालका लागि सरकारले पहिचान गरेको आधार स्तम्भ निर्माण गर्ने र विभिन्न पूर्वाधारको सह–प्रयोगका लागि यस आयोजनाले सहयोग गर्ने बताएका छन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आयोजना मार्फत सुदूरपश्चिम र कर्णाली जस्ता विकट र चुनौतीपूर्ण क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने र तोकिएको समयमा गुणस्तरीय र मापदण्ड अनुरुपको नेटवर्क उपलब्ध गराउने प्रतिबद्धता गरे ।

सम्झौतामार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ । रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुनेछ ।

आयोजना अन्तर्गत करिब २ हजार ४ सय किलोमिटरमा अन्डरग्राउन्ड, एडीएसएस फाइबर तथा डिबिसी विस्तार गरिने छ । साथै विभिन्न साइटहरूमा डीडब्ल्युडीएम, राउटर तथा माइक्रोवेभ सञ्चालन गरी नेटवर्क विस्तार गरिने छ । मध्य पहाडी लोक मार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुको साथै जिल्ला सदरमुकाम र नगरपालिका सम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्