
१९ पुष २०७६, काठमाडौं
जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ ।
नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
जनवरीमा एक हजार र मार्चमा १३ सय जना सहभागी हुनेगरी जम्मा दुई चरणमा भाषा परीक्षा हुनेछ । त्यसका लागि जापान फाउण्डेशनले केयर गिभरमा जान इच्छुकहरुसँग आवेदन माग गरेको छ ।
भाषा परीक्षा जनवरीको ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३–५, ९–११, १२, १५–१९ तारिखमा हुनेछ ।
भाषा परीक्षा काठमाण्डौको डिल्लीबजारमा रहेको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा हुनेछ । परीक्षाको लागि आवेदन शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ ।





