राजपाले छान्यो राष्ट्रिय सभा उम्मेदवार



१९ पुष २०७६, काठमाडौं

राष्ट्रिय जनता पार्टी(राजपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छानेको छ।

राजपाले प्रदेश नं. २ बाट राष्ट्रिय सभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए।

शनिबार (आज)बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो। उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो।

यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउने निर्णय भएको यादवले बताएका छन्। राजपाले प्रदेश नं.२ बाट मात्रै राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ।

नेपाली कांग्रेसले शनिबार र नेकपाले शुक्रबार नै राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ। आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि आईतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्