कसरी बचाउने चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई?



१९ पुष २०७६, काठमाडौं

काठमाडौं लगायत अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेको छ। त्यसैले, यो समयमा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमामा पनि उत्तिकै ध्यान दिनु जरुरी छ।

पछिल्लो समय चिसोका कारण सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको चिकित्सकहरु बताउँछन्।

बालबालिकालाई चिसोबाट बचाउन नसकेमा निमोनिया, रुघाखोकी र झाडावान्ता जस्ता समस्याहरु उत्पन्न हुन्छन्। चिकित्सकहरुका अनुसार, चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा भएकाले न्यानो पारेर राख्नु पर्दछ।

दमको समस्या भएकालाई रुघाखोकीले छिट्टै सताउन सक्ने र बालबालिकामा निमोनिया, रुघाखोकी र झाडावान्तको बढी समस्या देखिने सम्भावना हुन्छ। त्यसैले, चिसोबाट बच्न न्यानो भएर बस्न चिकिसकहरु सुल्झाउछन्।

विशेषगरि चिसोमा ‘रोटा भाइरस’ ले डाइरिया हुन सक्ने भएकाले यसबाट बच्न चिकित्सकहरु सल्लाह दिन्छन्। ‘रोटा भाइरस’ को खोप निःशूल्क दिने नेपाल सरकारको सूचीमा परेता पनि हालसम्म लागू  भने हुन सकेको छैन।

चिसोमा बालबालिकालाई विभिन्न रोगबाट बचाउनका लागि न्यानो पारेर राख्ने र उमेर अनुसारको नियमित खोप लगाउनका साथै घरका झ्याल ढोका थुनेर कोइला बाल्दा ‘कार्बन मनोक्साइड’ हुन सक्ने चिकित्सकहरुको भनाई छ।

चिकित्सकहरुका अनुसार, दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउन र दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना खुवाउनु पर्दछ।

नेपालको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना छ।

जाडो मौसमका लागि अधिकांश विद्यालयले आइतबारदेखि तीन सातासम्मका लागि विद्यालयमा बिदासमेत दिँदैछन्। जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरु खेलेर आलो वा हिटरमा पर्न सक्ने भएकाले घर बाहिर हिँडाउदा बालबालिकाहरुलाई पूरै शरिर छोप्ने र पानीमा नभिजाउन अत्यावश्यक छ।

चिकित्सकहरुका अनुसार, चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककहाँ लैजानुपर्दछ। चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्ने हुन्छ। आन्द्रामा असर गर्न सक्ने हुन सक्छ।

चिसोमा विशेषगरि ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्नुपर्ने र चिसो खाने कुरा टाढै रहनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन्।विशेषगरि चिसोबाट बच्नका लागि न्यानो भएर बस्नका साथै तातो खाना र झोलयुक्त खानेकुराहरु खानुपर्दछ।

चिकित्सकहरुका अनुसार, ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्न सक्ने र उनीहरुको छालामा बोसो कम हुने हुँदा चिसोले चाँडै भेट्टाउने र दम बिग्रिएमा निमोनिया हुने हुन्छ।

वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले पनि आग्रह गरेको छ। महाशाखका अनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस छ भने डडेल्धुरको न्यूनतम माइनस १ दशमलव ५ र अधिकतम ३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया दिनुहोस्