मन्त्रीले नै माघ ६ गतेभित्रै उखु किसानहरुको भुक्तानी दिलाउँछु भनेपनि उखु किसानहरु घर फर्किन तयार



१९ पुस २०७६, काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु । सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाईदिने प्रतिबद्धता व्यक्त गर्दर्छु । सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’

उनकाअनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन  बाँकी रहेको छ । उनले भने,‘उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ । त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’

उनले आफूहरुले उखु किसानहरुको मागलाई गम्भिरतापूर्वक लिएको सुनाउँदै किसानको समस्या समाधान गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । उनले भने,‘अब शंका उत्पन्न गर्न दिन्नौं ।’ उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए ।

मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चीनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार अभाव छ । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्