
१९ पुष २०७६, काठमाडौं
रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग रङ्गेहात पक्राउ परेको छ । माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलासँग आफूहरु श्रीमान श्रीमती भएको भन्दै मंसिरदेखि कोठा लिएर बसेको थाहा पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई कोठाबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिएका छन् । महिलाको श्रीमान कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा सुनेपछि तत्काल नेपाल फर्केका हुन् । नेपाल फर्केपछि उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।
उता केहि बर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिईन् । कृष्णमाया र कविराजको भेट भई दुवै मिलेर खोज्न थाले ।माझी र महिला श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि माझीकी श्रीमती र महिलाको श्रीमान खोज्दै उनीहरु कोठासम्म पुग्न सफल भएका थिए । कोठामा उनीहरुले श्रीमान् श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु बनाएर राखेका रहेछन् ।





