उखु किसान घर फर्किन मञ्जुर !



१८ पुष २०७६, काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी ६ माघभित्र मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउने गरी लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार (आज)रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता गरेका हुन्। मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार शुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताए।

आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउने गरी लिखित रुपमै सहमति गर्ने आपूर्तिमन्त्री भट्टले बताएका छन्। उनले नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिक टन चिनीको माग रहेको बताउँदै अझै ६५ हजार मेट्रिकटन अभाव रहेको उल्लेख गरे।

कार्यक्रममा उपस्थित उखु किसानले आफूहरु घर फर्किन तयार रहेको बताए। उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले मिडियाकै कारण आफूहरुको आन्दोलन सफल भएको बताउँदै धन्यवाद समेत दिए।

प्रतिक्रिया दिनुहोस्