सांसद शाहलाई पक्राउ गर्न अदालतले दियो अनुमति



१८ पुष २०७६, काठमाडौं

सांसद अभिषेक प्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ।

कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद शाहलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो। अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको कपिलवस्तुका निमित्त प्रहरी प्रमुख नायव उपरीक्षक सुनिल मल्लले बताएका छन्।

शाह सा‌ंसद भएकाले संघीय संसद्‌लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए। संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लको भनाई छ।

गत ५ पुषमा श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।

मिश्राले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप निवेदनमा लगाएका थिए।

शाह कांग्रेसबाट निर्वाचित सांसद हुन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्