विमानस्थलमा आक्रमण गरी अमेरिकाद्वारा इरानी क्विड फोर्सका प्रमुखको हत्या



१८ पुष २०७६, काठमाडौं

अमेरिकाले बिहीबार राती इराकको राजधानी बगदादमा गरेको हवाई हमलामा इरानको क्विड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन्।

यसैगरी सो हमलामा पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमान्डर अबु मेहदी पनि मारिएका बीबीसीले जनाएको छ। क्विड सिधै इरानका सर्वोच्च नेता आयोतुल्ला खुमेनीको नेतृत्वमा रहने बताइन्छ।

भ्वाइस अफ अमेरिकाले उच्च इरानी राजनीतिज्ञ तथा सुरक्षा अधिकारीको हवाला दिदैं सुलेमानी र मेहदी मारिएको जनाएको छ। इरानको राज्य नियन्त्रित टेलिभिजनले पनि उनीहरु मारिएको जनाएको छ।

उनले सन् १९९८ देखी क्विडको नेतृत्व गर्दै आइरहेका थिए। अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले अमेरिकाको सुरक्षाका खातिर यो रक्षात्मक कारबाही गरेको जनाएको छ।

जनरल सुलेमानीले पछिल्ला कयौं महिनादेखि आफू र आफ्ना गठबन्धनविरूद्ध हमला गराइरहेको र यसमा २७ डिसेम्बरमा गरिएको हमला पनि रहेको अमेरिकाले जारी वक्तव्यमा भनेको छ।

वक्तव्यमा सुलेमानीले यसै हप्ता बगदादस्थित अमेरिकी दूतावासमा पनि हमला गर्ने अनुमति दिएको अमेरिकाले आरोप लगाएको छ। ‘यो हवाइहमला भविष्यमा इरानले गर्नसक्ने हमलाका योजनालाई रोक्ने उदेश्यले गरिएको हो। जहाँ भएपनि अमेरिका आफ्ना नागरिकको रक्षाका लागि आवश्यक कुनै पनि कारबाही गर्न लागिरहनेछ।’ अमेरिकाले भनेको छ।

यस हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा अमेरिकी झण्डाको तस्वीर ट्वीट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्