‘एनआरएनएका लागि वर्ष २०१९’



#NRNA #Nawarajrosyara #एनआरएनए

१७ पुस २०७६, काठमाडौं

वर्ष २०१९ हामी गैरआवासीय नेपाली संघ (एनआरएन)हरुका लागि मिश्रित रहन पुग्यो । हामी बिभिन्न प्रतिकुल परिस्थितीका वावजुद गैरआवसीय नेपाली संघको बिश्व सम्मेलन सम्पन्न गर्न सक्षम भयौँ ।

हाल सम्मकै सर्वाधिक बढि प्रतिनिधीहरुको सहभागीताले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ । विश्वका बिभिन्न देशहरुमा पनि हामीले एनसीसीको निर्वाचन सम्पन्न गरेर नया नेतृत्व चयन गर्न सफल भयौँ । यसलाई हामीले उपलव्धीको रुपमा लिन सक्छौँ । तर “आफ्नो मातृभूमीका लागि सवै मिलेर केहि गरौ” भन्ने हामी गैरआवासीय नेपालीहरुको पवित्र भावनामा सबैभन्दा वढी चोट पनि यसै बर्ष लागेको अनुभूती धेरैले गरिरहेका छन् ।

एनआरएनएको बिश्व सम्मेलन ताका देशकै प्रधानमन्त्री समेतले एनआरएनहरुको आचरण र व्यवहारप्रति प्रश्न चिन्ह उठाउने अवस्था सिर्जना हुनु, विश्व सम्मेलनताका हामी बिच भएको अस्वस्थ प्रतिस्पर्धा र त्यस्ले छताछुल्ल पारेको हाम्रो कमजोर व्यवस्थापकीय धरातल, सम्मेलन मार्फत प्रकाशमा ल्याइएको १५ करोड रुपैंयाको घाटा हिसाव किताव र एनआरएनए भित्र देखिएका आर्थिक अनियमितताका समाचारहरुले गैरआवासीय नेपाली अभियानले अहिलेसम्म कमाएको बिश्वासमा ठूलो ठेस लगाई दिएको छ । यसले विश्वभरी छरिएर रहेका तमाम प्रवासी नेपाली दीदीबहिनी तथा दाजुभाइहरुलाई स्तब्ध पनि पारेको छ ।

नयाँ वर्षको यो शुभ अवसरमा हाम्रा कमजोरीहरुलाई यहाँ उल्लेख गर्नुको मेरो उद्देश्य कुनै व्यक्ति बिशेषलाई आरोपित गर्नु कदापी होइन । अहिलेको यो परिस्थिती सिर्जना हुनुमा हामी कसै एक जनाको मात्र दोष छैन । आफ्नो पदीय दायित्व अनुसार म स्वयम् पनि उत्तिकै दोषी छु । एनआरएनए अभियान अन्तर्गतका कतिपय निर्णयहरु गलत भए पनि आफू र आफ्ना व्यक्तिहरुलाई जिताउने नाममा ती निर्णयहरुमा मौन समर्थन वा सहयोग मैले पनि  गरेँ । परिणाम स्वरुप एनआरएनए भित्र अस्वस्थ प्रतिस्पर्धा र प्रतिनिधी किनबेच जस्ता नराम्रा कार्यहरुले प्रश्रय पाउँदै गए । यसपालीको सम्मेलन मार्फत ती कुराहरु सबैले देख्ने गरिनै सतहमा छताछुल्ल भएर देखा परे । आफूले गरेका गल्तीहरुमा आम गैरआवासीय नेपाली दीदीवहिनी तथा दाजुभाइहरुसँग म क्षमा माग्न चाहन्छु । मेरो ब्रम्हले भ्याएसम्म भविष्यमा त्यस्ता कुनै पनि गलत गतिवबिधीहरुको समर्थन नगर्ने  प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

एनआरएन अभियानमा रहँदा मैले अनुभूति गरेको अर्को समस्या हो–राजनैतिक विचारधाराका आधारमा व्यक्तिको समर्थन वा बिरोध । हिजोको राजनैतिक पृष्ठभूमीलाई हेरेर आज छोइछिटो गर्ने हाम्रो प्रबृत्ति नेपालको सुदुर पश्चिममा रहेको छाउपडी प्रथा भन्दा कम छैन । हिजो कुनै व्यक्ति कुनै अमुक दलसँग आवद्ध भएकै आधारमा त्यसलाई आफ्नो नजिक वा टाढाको देख्ने प्रवृत्ति हाम्रो मनभित्र गडिएर वसेको छ । आफ्नो पार्टीसँग सम्बन्धित व्यक्ति छ भने ऊ जस्तोसुकै असक्षम र नराम्रो चरित्रको छ भने पनि उसलाई आफ्नो नजिकको मित्र ठान्ने, तर फरक विचार बोकेको व्यक्ति भए एनआरएनएका लागि ऊ जतिसुकै सक्षम र जतिसुकै क्रियाशील भएपनि उसलाई शत्रु नै ठान्ने । यस्तो सोचाईबाट हामी सवै ग्रस्त छौँ । नेपालका जुन नेताहरुलाई सरापेर हिजो हामी विदेश भासिएका थियौँ, आज तीनै नेताहरुको कुरा सुनेर हामीहरु एनआरएनमा राजनैतिक रङ्ग भरिरहेका छौँ । कुनै एउटा व्यक्तिले नेतृत्व गर्दा अमुक पार्टीको जित र अर्को व्यक्तिको नेतृत्व हुँदा अर्कै पार्टीको जित देख्ने किसिमको हामी भित्र हुर्किएको अछुतपना छाउपडीसँग जोडिएको अछुतपनाको व्यवहार जस्तै गलत छ किनकी एनआरएन अभियान मात्र मातृभूमीप्रतिको माया र श्रद्धामा आधारित छ । हरेक नेपालीले नेपाललाई उत्तिकै माया र श्रद्धा गर्ने गर्दछ ।  सुदुरपश्चिममा महिलाहरु  महिनावारीको समयमा अछुत बन्ने परम्परालाई हामी हृदय देखिनै तिरस्कार गरिरहेका छौँ । तर एनआरएनए भित्र राजनैतिक विचारधाराका आधारमा हुने अछुतपनालाई हामी मलजल दिएर हुर्काइरहेका छौँ । छाउपडीको छुवाछुत मानव जातिका लागि जति गलत र घातक छ, एनआरएनएमा भित्रिएको राजनैतिक छुवाछुत पनि हामी एनआरएनहरुका लागि त्यति नै घातक  छ । यसको अन्त्य नभएसम्म एनआरएनएको लक्ष्य हासिल गर्न हामी कहिल्यै पनि पूर्ण रुपमा सफल हुने छैनौँ । हो ! एनआरएनका धेरै अभियन्ताहरुको हिजाको पृष्ठभूमी कुनै न कुनै राजनैतिक पार्टीसँग जोडिएको थियो । तर आज हामीहरुको चाहना एनआरएन भित्र छिरेर राजनीति गर्नु कदापी होइन ।

हामीहरु मात्र आफ्नो मातृभूमि नेपाल प्रतिको अगाध माया र स्नेहका आधारमा एक हुन चाहन्छौँ । एउटै आमाका सन्तानका रुपमा बिदेशमा चिनिन् चाहन्छौँ–हामी ।  हामी सबैलाई थाहा छ, हरेक नेपालीले आफ्नो  मातृभूमिलाई अगाध माया गर्छौं । अनि आफ्नो  मातृभूमि र आफ्ना आमाबुवा र आफ्नो  समाजवाट टाढा हुनुको पिडाले हरेक नेपालीको मन उत्तिकै छ । त्यसैले जब–जब हाम्रो मनमा राजनैतिक रङ्ग देखा पर्दछ, तब–तब हामी आफ्नो आमा नेपाललाई सम्झन्छौँ र सबै अभियान्ताहरुलाई एकै आमा नेपालका सन्तानको रुपमा हेरौँ । एनआरएनलाई राजनीतिबाट मुक्त गर्ने केबल यहि एउटा उपाय हो ।

आफ्नो राजनैतिक विचारधारा जुनसुकै भएपनि जहिलेदेखि मैले एनआरएन अभियानको महत्व वुझेँ । त्यहिबेला देखि नै एनआरएनमा रहेसम्म मैले नेपालका सबै राजनैतिक विचार र पार्टीहरुप्रति समान हिसाबले सम्मान र आदर प्रकट गर्दै आएको छु । हरेक एनआरएन अभियन्तालाई उत्तिकै स्नेह र सम्मान गर्ने तथा राजनैतिक आस्थाका आधारमा कसैप्रति कुनै पनि प्रकारको बिभेद नगर्ने प्रतिवद्धता गरेको छु । तर पनि मेरा यी प्रतिवद्धताहरु प्रति एनआरएनका सवै अभियन्ताहरुलाई अझै आस्वस्त पार्न सकेको रहेनछु । सायद यसमा पनि मेरा कमजोरी रहेकै हुनपर्दछ । आगामी दिनमा म आफ्ना सबै कमजोरीहरु हटाउँदै  एनआरएनमा राजनैतिक निस्पक्षताका लागि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । साथै कुनै व्यक्तिको कुनै बिशेष राजनैतिक पृष्ठभूमि भएकै कारण सधैँभरी त्यहि राजनैतिक आखाँले नहेर्न सबै  एनआरएन अभियन्ता साथीहरुमा हार्दिक अपिल गर्न चाहन्छु ।

नयाँ वर्ष आरम्भको यो पवित्र समयमा हामी सबैले आफ्ना कमजोरीहरु स्वीकार्दै यस किसिमको आत्म समिक्षा गर्नैपर्ने बेला आएको छ । एनआरएनए नेतृत्व लिएका साथीहरुले आज “यस्तो मानिससँगको भेट”, भोली “यस्तो कार्यक्रममा सहभागीता” भनेर फेसबुकका वालहरुमा फोटो हाल्दै त्यसैमा आफ्नो मुख्य उपलब्धी देख्न छोडौँ । भएका कार्यक्रमहरुको प्रचार गर्नुपर्दछ । तर त्यसैमा मख्ख परेर हामीले हाम्रा मूल समस्याहरुलाई लुकाउने काम गर्न थाल्यौँ भने हाम्रो अभियान प्रति थप अविस्वास बढ्दै जानेछ । अन्ततोगत्वा एनआरएन अभियान एकदिन परोपकारिताका नाममा केवल ढोङ्ग बन्न जाने निश्चित देखिन्छ ।

एनआरएन प्रति घटेको बिश्वासलाई पुनः आर्जन गर्ने हो भने अहिले नेतृत्वको मुख्य कार्य भनेको आर्थिक पारदर्शीताका लागि संयन्त्र निर्माण गर्नु हो । हाम्रो अभियान आम गैरआवासीय नेपालीहरुको चन्दावाट चल्ने संस्था हो । तर १५ करोड घाटा, ठेकापट्टा मार्फत भएका एनआरएनए भित्रका आर्थिक अनियमितता, कतिपय अवस्थामा त एनआरएन कर्मचारीहरुको समेत संलग्नता रहेको जस्ता तथ्यहरु वाहिर आएका छन् । यी तथ्यहरुको  बिश्लेषण गर्दा अहिले सम्मका बिभिन्न शिर्षकमा चन्दा मार्फत संकलन गरेको पैसाको दुरुपयोग भएको प्रष्टै हुन्छ । एनआरएनए अभियानमा मातृभूमिसँग सम्वन्धित भावनात्मक नाराहरु लगाएर चन्दा  संकलन गरिन्छ । त्यसै रकमले एनआरएनएले नेपालमा परोपकारी काम गर्ने गर्दछ । नेपालमा कर्मचारीहरु राखेर आफ्नो दैनिक गतिबिधीहरु संचालन गर्ने गर्दछ । तर मानिसले चन्दा त्यसै दिदैनन् । चन्दा उसले तब मात्र दिने गर्दछ, जब उ चन्दा लिने संस्थाप्रति आदरभाव र बिश्वासले ओतप्रोत भएको हुन्छ । भावनात्मक आधारमा बनेको हाम्रो संगठन एनआरएनए भित्र यसरी आर्थीक अनियमितताका कुराहरु उठ्नु अत्यन्त दुःखदायी हो । त्यसैले अहिलेको नेतृत्वले एक बलियो र पारदर्शी आर्थिक संयन्त्र बनाई संसारभरी छरिएर रहेका सवै एनआरएनहरुलाई बिस्वस्त तुल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ ।

एनआरएन अभियान मार्फत गर्न सकिने परोपकारिताको सम्भाव्यतालाई भजाएर एनआरएनको मुख्य पदमा आसिन व्यक्तित्वहरुले नेपालमा राजनैतिक पार्टी एवम् सरकारसँग मोलतोल गर्ने र आफ्नो  व्यापारिक हितका लागि नीतिगत निर्णयहरु गराएर आर्थिक लाभ लिइरहेको कुरा पनि बेलाबेलामा वाहिर आउने गरेको छ । नेपालमा एनआरएनहरुबाट हुने यस प्रकारका नीतिगत भ्रष्टाचारहरु प्रति इङ्गित गर्दै त्यसतर्फ साधारणले औंला ठड्याइरहेका पनि छन् । त्यसैले एनआरएनएको नयाँ नेतृत्वले यसमा पनि सचेत भएर काम गर्नु जरुरी छ ।

अन्तमा, एनआरएन अभियान हामी सबै गैरआवासीय नेपालीहरुको आफ्नै अभियान हो । यसमा कमीकमजोरीहरु देखेर यसबाट अलग्गिनुको सट्टा भएका कमीकमजोरीहरु सच्याउँदै यो अभियानलाई पारदर्शी, मर्यादित र बिश्वसनीय बनाउनमा एकजुट भएर लागौँ । सबैले आ–आफ्नो तर्फबाट भएका कमीकमजोरी प्रति आत्मालोचित हुँदै यो अभिायनको सुदृढीकरणमा आफूलाई समर्पण गरौँ । नयाँ वर्ष २०२० को उपलक्ष्यमा सम्पूर्ण गैरआवासीय नेपाली दीदीबहिनी तथा दाजुभाइहरुमा यहि शुभकामना छ ।  साथै हामी सबैका लागि यो वर्ष निकै नै फलप्रदायक रहोस् र चारैतिर सुख शान्ति फैलियोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु ।

नबराज रोस्यारा
पूर्वअध्यक्ष
गैरअवासीय नेपाली संघ, जर्मनी

यो पनि पढ्नुहोस्

एनआरएनएको नवौं  विश्व सम्मेलन तथा महाधिवेशन बारे नवराज रोस्यारको निर्वाचन समिक्षा तथा धन्यवाद ज्ञापन

प्रतिक्रिया दिनुहोस्