आजको सम्पादकीय : दुई अध्यक्षबीच खिचातानीका कारण प्रतिनिधिसभा ‘बन्धक’



१७ पुष २०७६, काठमाडौँ

आज प्रकाशित मुख्य दैनिक पत्रिकाले सत्तारुढ पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको सभामुख चयनमा ढिलाई भएको र नेपाली कांग्रेसमा देखिएका आन्तरिक कलहलगायतका विषयमा सम्पादकीय लेखेका छन् ।

कान्तिपुर दैनिकको सम्पादकीयअनुसार सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’जस्तै बन्नु संसद्कै गरिममाथि प्रश्न हो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसकेकै कारण संसद् बैठक सरिरहेको छ । जनताको प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको साझा थलो प्रतिनिधिसभालाई यसरी सत्तारुढ दलको कब्जामा रहेको जस्तो हालतमा पु¥याउनु हुँदैन । सभामुख भनेको समग्र प्रतिनिधिसभाकै नेता हो, सबै दलबीच समन्वय गर्ने साझा व्यक्ति हो । तसर्थ, प्रतिनिधिसभा नेतृत्वविहीन भएर बस्दा र बैठक अवरुद्ध भइरहँदा यसको उचित मर्यादा कायम रहन सक्दैन ।

प्रतिनिनिधिसभाको सभामुख चयन गर्ने विषयमा देखिएको किचलोको विषयमा आज अन्नपूर्ण पोस्ट्ले पनि सम्पादकीय लेखेको छ । ‘सत्ता छायामा संसद्’ शीर्षकमा देखिएको सम्पादकीयका अनुसार संसद्लाई सत्ताको छायामा राख्न सकियो भने हरेक खाले स्वच्छाचारी कदम सहजै अनुमोदन गर्न सकिनेदेखि स्वेच्छाचारी शैलीमा कानुन पनि निर्माण गर्न सकिन्छ भन्ने रणनीति अन्तर्निहित हुुन्छ । सत्तारुढ दलको आन्तरिक कचिंगलका कारण न सभामुखको उम्मेदवार तय हुन्छ न हिउँदे अधिवेशनको नियमितता नै ।

आजको नागरिक दैनिकले देशको प्रमुख प्रतिदल कांग्रेस बिग्रिँदा देशकै समग्र परिस्थितिमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै ‘कलहमा कांग्रेस’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ । उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्याका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ,’ सम्पादकीयमा भनिएको छ, ‘कांग्रेसभित्रको कलह बैलेमा टुंगोमा पुगोस् ।’

त्यसैगरी आजको नेपाल समाचारपत्रले पनि कांग्रेसमा देखिएको कलहका कारण उसका सुभचिन्तकहरु निराश भएको उल्लेख गर्दै ‘कांग्रेसमा कलह’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘लोकतन्त्रमा प्रतिपक्षी बलियो हुनुपर्छ भन्ने मान्यता छ,’ सम्पादकीयमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले व्यक्तिगत स्वाथ्र्य त्यागेर दलीय हितलाई प्राथमिकता नदिएसम्म कांग्रेस बलियो बन्न सक्दैन ।’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले प्रदेश नं ३ को राजधानी हेटौंडा र नाम बाग्मति तोक्न निर्देशनले संघीयताको अवमूल्यन गरेको उल्लेख गर्दै आजको नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ । सम्पादकीयअनुसार नेकपालको सचिवालय बैठकले प्रदेश नं ३ को राजधानी र नाम तोक्न दिएको निर्देशनले संसद्को विशेषाधिकारको अवमूल्यन गरेको छ । सत्तारुढ दलको निर्णय अपरिवक्व र संविधानको भावना विपरित रहेको प्रस्ट संकेत गर्छ ।

नेपाल नागरिक उडड्यान प्राधिकरणका कर्मचारीका एक नेताले विभागीय मन्त्रीसामुख अमानवीय अभिव्यक्ति दिएको विषयमा कारोबार दैनिकले ‘प्राधिकरणमा युनियनको दादागिरीमा रोक’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– प्राधिकरणमा आमूल रुपान्तरणको खाँचो छ र यसको प्रस्थान विन्दु नै सेवाप्रदायक र नियमक छट्याउने कार्यान्वयनबाटै हुनेछ । त्यसमा असहयोग र अवरोध गर्ने कर्मचारीलाई बेलैमा घर पठाएर नयाँ र प्रतिवद्ध कर्मचारी भर्ना गर्न खुट्टा कमाउन हुन्न ।

त्यसैगरी आजको आर्थिक अभियानले बहुप्रतीक्षित नेपाल भ्रमण वर्ष २०२० को संघीय राजधानी, प्रदेशका केन्द्र र स्थानीय तहमा उद्घाटन गरिएको उल्लेख गर्दै ‘भ्रमण वर्ष र गुणस्तरीय पर्यटन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सरकार र व्यवसायी दुवैका लागि यो भ्रमण वर्ष चुनौती र अवसर दुवै हुन् । दुवै मिलेर दिगो र गुणस्तरीय पर्यटनको जग बसाउन आवश्यक देखिन्छ ।

आजको गोरखापत्र दैनिकले नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइट फोहोरले भरिँदै गएको उल्लेख गर्दै ‘फाहोरको व्यवस्थापन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– फोहोर व्यवस्थापनको वैज्ञनिक मापदण्ड नबनाएका कारण अहिलेको समस्या जटिल बन्दै गएको हो, त्यसलाई समयमै ध्यान दिएर सही तवरले फोहोरको व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्