Visit Nepal 2020: होटलमा पर्यटकलाई ३० प्रतिशतसम्म छुुट



१६ पुष २०७६, काठमाडौं

‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गर्दै नेपालका होटलले विदेशी पर्यटकलाई कोठा र खानामा छुट दिने भएका छन्।

पर्यटकलाई कोठा भाडामा ३० र खानामा १५ प्रतिशत छुट दिने होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए। नेपाल आउने विदेशी पर्यटकले यो छुट २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्म पाउनेछन्।

उक्त छुट विदेशी पर्यटकको लागि मात्र हुने उपाध्यक्ष शाहको भनाई छ। अहिले होटल एसोसिएसन नेपालको देशभरि पाँचचारे होटलसहित झन्डै २ हजार होटल सदस्य छन्। ‘हाम्रा सबै सदस्यमा यो छुट लागू हुन्छ।’ उनले भनेका छन्।

पर्यटकले जुनै कोठा बुकिङ गरे पनि तोकिएको छुट पाउनेछन्। भ्रमण वर्षलाई लक्षित गरी एसोसिएसनले दुई महिनाअघि नै पर्यटकलाई छुट दिने निर्णय गरेको शाहले बताए।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। गत वर्ष ११ लाख ७३ हजार पर्यटक नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्