विभिन्न कारोबारीय कागजात अध्ययन गर्दै बूनपा लेखा समिति [विज्ञप्ति]



१५ पुष २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका अन्तर्गतको लेखा समितिले नगरपालिकाभित्र देखिएका असन्तोषजनक कारोबारहरुको कागजात अध्ययन गर्ने भएको छ।

मंगलबार प्रेस विज्ञप्तिमार्फत् विभिन्न समाचार पोर्टलहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले कपन क्याम्पसको बालुवा विक्री, नवनिर्मित नगरपालिका भवनको काष्ठ सज्जा खरिद, नगरपालिकाको चौमासिक आय–व्यय तथा योजना प्रगतिको विवरणलगायतका विषयमा भएका कारोबारीय कागजातहरुको अध्ययन गर्ने जनाएको हो।

“समितिको मिती विसं २०७६ पौष १५ गते बसेको बैठकले निम्न प्रकरणहरुको बिल भर्पाइ तथा कागजात माग तथा अध्ययन गर्ने निर्णय गरेको छ।” समितिका संयोजक पुरुषोत्तम नेपालद्वारा जारी विज्ञाप्तिमा भनिएको छ।

यस्तै बैठकले अध्ययन गर्ने जिम्मेवारी पनि बाँडफाँड गरेको छ। समितिले बालुवा प्रकरणमा मञ्जु परियारलाई र काष्ठ सज्जा खरिदमा दिलकुमारी विकलाई अध्ययनको जिम्मेवारी दिएको छ। यसैगरी चौमासिक आय–व्यय तथा योजना प्रगति विवरण अध्ययनको जिम्मेवारी भने संयोजक नेपाललाई नै दिइएको छ।

माथि उल्लिखित विषय तथा प्रकरणहरुमा मूलधारका समाचार पोर्टलमा समेत समाचार सम्प्रेषित थिए।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्