
१५ पुस २०७६, काठमाडौं
तत्कालिन ३ नम्बर गोश्वारा, काठमाडौंका प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालिन प्रमुख मालपोत अधिकृत बिष्णुकुमार राई सहित जग्गाधनी अरुणकुमार रन्जित उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
गैर कानुनी रुपमा काठमाडौं जिल्ला, साविक नगर २क, कित्ता नम्बर २३७, क्षेत्रफल ०–११–२–० को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरिएकोले नापी अधिकृत सहित अन्य दुईलाई दोषी ठहर्याई कारवाही गरिएको हो ।
राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी व्यक्ति विशेषलाई गैरकानुनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने कार्य गरिएकोले तत्कालिन समयको न्यूनतम सरकारी मूल्यांकन अनुसारको रु.४,१२,६३७ बिगो कायम गरिएको छ ।





