
१५ पुष २०७६, काठमाडौं
वीरेन्द्र कनोडिया, महालक्ष्मी सुगर्सका संचालक मात्र नभएर प्रदेश नं. ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन्।
उपनेता कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन्। उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र सरकारको सम्पर्कमा पनि आउन अटेर गरेको कृषिमन्त्री घनश्याम भुसालको दावी छ।
“अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका संचालक सम्पर्कबिहीन छन्। उनीहरूलाई सम्पर्कमा ल्याउने र किसानको बक्यौता भुक्तानी गराउन सरकारले प्रयास गरिरहेको छ।” प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री भुसालले भने।
कनोडियाले भने सरकारको सम्पर्कमा नआएको भन्ने आरोप निराधार भएको बताएका छन्। ‘म सरकारको सम्पर्कमा नआएको भन्ने आरोप निराधार हो। मेरो उद्योगमा भुक्तानीको समस्या छैन ।’ उनले भनेका छन्।
तर, उनलाई महालक्ष्मी सुगर्स मिलले २१ करोड भुक्तानी गर्न बाँकी रहेको तथ्य सुनाउँदा उनले भने, ‘म पैसा तिर्दै आएको छु, आगामी सोमबार १४ करोड भुक्तानी गर्दै छु।’





