सभामुख चयन गर्न बसेको नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुङ्गियो!



१३ पुस २०७६, काठमाडौं

सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार बिहान सभामुख चयन गर्न बसेको सचिवालय बैठकले सभामुख चयन गर्न सकेन ।

बैठकपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार सभामुख चयन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको भए पनि समयअभावका कारण छलफल हुन सकेन । उनले छिटै बस्ने अर्को बैठकले यसबारे थप छलफल र आवश्यक निर्णय गर्ने जानकारी दिए ।

नेकपामा पछिल्लो समय सभामुख चयनबारे विवाद बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका बारेमा सहमति जुट्न बाँकी नै छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सभामुख चयनमा चासो राख्दै आएकी छन् ।

सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा शुक्रबार प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको चालु अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रियामा ढिला हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्