दुई दशकदेखिको डुवान समस्या समाधान हुने : कपनबासी खुसी



१२ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का स्थानीयले विगत दुई दशक देखि भोग्दै आएको डुवान समस्या समाधान हुनेभएपछि खुसी भएका छन् । कपनमा वर्षौ देखि डुब्दै आएको आनीगुम्बा र शान्तिआनी टोलको समस्या नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा दीर्घकालिन रुपमा समाधान हुने भएपछि स्थानीयहरु खुसी भएका हुन् ।

डुवानको समस्याका विषयमा सबैलाई जानकारी भएपनि कसैले लामो समय सम्म पहल नगर्दा आफुहरु समस्यामा रहेको भएपनि अब व्यवस्थित ढल निकास सहितको सडक निर्माण हुने निश्चित भएपछि स्थानीयहरु खुसी भएको कपनका धावादोर्जे लामाले बताए ।

शनिवार कपनमा आयोजित शान्तिआनी टोल सुधार समितिले आयोजना गरेको भेलामा सहभागी स्थानीयले वर्षौदेखिको समस्या समाधान गरिदिएको भन्दै खुसी व्यक्त गरेका थिए । भेलालाई सम्बोधन गर्दै डा.भट्टराईले आफुले चुनावी बाचा पुरा गर्दै आएको बताए ।

चुनाव जितेर मात्र विकास निर्माणका काम गर्न सकिन्छ । हार्नेले विरोध गर्ने र अर्को चुनाव पर्खर्ने भन्ने मान्यताको अन्त्य गर्न आवश्यक छ । उनले भने, मैले चुनाव हारेपनि त्यो बेला गरेका वाचा पुरा गरिरहेको छु । डा.भट्टराईले विकासका अभियानमा सकृय भएर लाग्न सबैलाई आव्हान गरेका छन् ।

उपत्यका विकास प्राधिकरणले कपनको डुवान समस्या समाधानका लागि ढल सहितको व्यवस्थित सडक बनाउन १४ करोड रकम विनियोजन गरेको थियो । त्यस मध्ये १० करोड ९६ लाखमा काम गर्ने गरि ड्राईगन फेवा कम्पनीले ठेक्का लिएको छ । कम्पनीका ठेकेदारले आगामी असार मसान्तभन्दा अगाडी नै काम सक्ने प्रतिवद्धता जनाएका छन् ।

बूनपाका प्रमुख उद्धब खरेलले आफ्नो निर्वाचित क्षेत्रमा विभिन्न विकास निर्माणका काममा चुनाव जित्नेले खासै चासो नदिएको र थोरै मतले चुनाव हारेका डा. राजन भट्टराईले आफ्नो नगरमा अतुलनिय योगदान पुर्याएको बताए । यो धेरै मेहनतका साथ पारेको बजेट उचित रुपमा कार्यन्वयन गर्नु स्थानीय सरकारको दायित्व हो । नगर प्रमुख खरेलले भने, ‘यो योजना नगरको नगरको एक मुख्य योजना हो, यसलाई सबैले ध्यान दिन आवश्यक छ ।’

बूनपा वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीले ढलको व्यवस्थापन नभएका कारण वर्षौ देखि डुब्दै आएको आनीगुम्बा र शान्तिआनी टोलको समस्या अब समान हुने बताए । डुवान मुक्त गर्न पटक–पकट नगरपालिकाले पहल गरेको स्मरण गर्दै उनले स्थानीयहरु एकजुट भएर गुणस्तरिय कामका लागि चनाखो बन्नुपर्ने बताए ।

बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले ठेकेदारले गरेको बाचा पुरा गराउन आफु सदैव लाग्ने प्रतिवद्धता जनाए । आफ्नो वडामा कुनैपनि विकास निर्माणका काम गर्न ठेकेदारलाई समस्या नहुने प्रष्ट पारे । संपूर्ण वडावासीलाई आ–आफ्नो ठाउबाट सहयोग गर्न अनुरोध गर्दै वडाध्यक्ष भट्टराईले भने ‘डा. राजन भट्टराईको विशेष पहलमा आज तपाई–हामी डुबानमुक्त हुन हाम्रो महत्वपूर्ण उपलब्धि हो ।’

गत साउन पहिलो साता भएको वर्षाका कारण डुवानले जनजिवन प्रभावित बनेको आनीगुम्बा र शान्तिआनी टोलका स्थानीयहरु आक्रोसित बन्दै डा. राजन भट्टराई उपस्थित भएको कार्यक्रमा समस्या देखाए । त्यसको २ दिन भित्रै डा. भट्टराईले आफ्नै नेतृत्वमा साउन ६ गते  सडक विभागका महानिर्देशक केशब प्रसाद शर्मा, जिल्ला ईन्जिनियर प्रमुख कैलास श्रेष्ठ, नगरप्रमुख उद्धब खरेल लगायत साउन ६ गते पानीमा भिज्दै स्थलगत अनुगमन गरी समस्याको दीर्घकालिन समाधान गर्ने जनाएको प्रतिबद्धता पुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्