आजको सम्पादकीय : सवारीसाधन र काल एकअर्काका पर्याय



०९ पुष २०७६, काठमाडौं

काठमाडौं उपत्यकाबाट आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले अपराध कर्ममा लागेका विदेशी, न्यायमा देखिएको सुस्तता एवं उखु किसानले भोग्दै आएको मर्काका विषयमा सम्पादकीय लेखेका छन् ।

आर्थिक अभियानले नेपालको चीनसँग बढ्दो व्यापारिक सम्बन्ध र चिनियाँ पर्यटकको नेपालमा आगमनमा वृद्धि भएसँगै विभिन्न अपराधमा चिनियाँ नागरिकहर पक्राउ पर्ने क्रम पनि बढेको उल्लेख गर्दै ‘विदेशी अपराधी र नेपाल’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– चिनियाँहरुको अपराध शृंखला पनि थपिएपछि नेपाल पेशेवर अपराधीहरुको क्रीडास्थल हो भन्ने सन्देश विश्वमाझ जान सक्छ । यसो भयो भने त्यसको सीधा र तत्काल असर पर्ने क्षेत्र भनेको नेपालको पर्यटन हो । तर, क्रमशः यसले बहुआयामिक असर पार्छ भन्ने बिर्सनु हुँदैन ।

त्यस्तै उत्तरी छिमेकी मुलुक चीनबाट पर्यटकीय भिसामा नेपाल आएर अपराध गर्नेको संख्या दिन–प्रतिदिन बढेको उल्लेख गर्दै आज नेपाल समाचारपत्रले ‘विदेशीमाथि फितलो निगरानी’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘चिनियाँहरुलाई नेपालीले बढी नै सद्भाव देखाउने गरेको पाइन्छ तर आपराधिक मनोवृत्ति भएका चिनियाँ नागरिकले भने नेपाललाई अपराधको कर्मथलो बनाउन थालेका छन्, त्यसतर्फ नेपाल सरकारको ध्यान जान जरुरी छ ।’

त्यसैगरी नयाँ पत्रिकाले १२२ जना चिनियाँ नागरिक पक्राउ परेको विषयमा सम्पादकीय लेखेको छ । ‘पर्यटक भन्नासाथ सबैलाई स्वागत गर्ने होइन, उनीहरुका क्रियाकलापमाथि पनि सूक्ष्म दृष्टि दिने गर्नुपर्छ,’ अपराध कर्ममा विदेशी शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ,‘ भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने र विदेशी लगानीका लागि बाटो सहज बनाउने धुनमा लागेको राज्यको निकायले राष्ट्रिय सुरक्षाजस्तो महत्वपूर्ण पक्षमा आँखा चिम्लिन मिल्दैन, यो घटनाबाट शिक्षा लिन जरुरी छ ।’

कृषिप्रधान मुलुकमा किसानहरु नै ठगिने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै कान्तिपुर दैनिकले ‘उखु किसान ः बोलिदिने कोही छैन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले उखु किसानलाई दिने अनुदान भुक्तानी प्रक्रियालाई पनि सहज बनाउनुपर्नेमा उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ– नयाँ समर्थन मूल्य तोकिनुपर्छ । जसरी हुन्छ, कृषिप्रधान मुलुकमा किसानहरु नै सधैँ ठगिने स्थिनी अन्त्य हुनुपर्छ ।

त्यस्तै आजको कारोबार दैनिकले पनि उखु किसानकै विषयमा सम्पादकीय लेखेको छ । ‘उखुको वैज्ञानिक मूल्य तोक’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ–चिनी उद्योगको संरक्षणका लागि आयात प्रतिबन्ध लगाइए पनि न किसानले राहत पाए न उद्योगले नै, बरु व्यर्थैमा उपभोक्ताको ढाड सेक्ने काममात्र भएको देखिन्छ ।

नागरिक दैनिकले पछिल्लो समय सवारीसाधन र काल एकअर्काका पर्याय बनेका उल्लेख गर्दै ‘सहरका मृत्युरेखा’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘राज्यको लाखौं रुपैयाँ र जनशक्ति लगानी भएर बनाइएका प्रतिवेदन भने प्रयोगमै नल्याउनु यस्ता दुर्घटना बढ्नु वा कायमै रहनुको मुख्य कारण हो भन्नु कुनै हिच्किचाहट छैन,’ सम्पादकीयमा भनिएको छ ।

सर्वोच्च अदालतले वर्षभरिको कामको मूल्यांकन गरी राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन तथ्यांकले माथिल्लो तहमै सुनुवाइमा ढिलाइ हुँदै गएको प्रष्ट पारेको उल्लेख गर्दै आजको अन्नपूर्ण पोस्ट्ले ‘न्यायमै प्रश्न’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘सर्वोच्च नेतृत्वले मुद्दाको सनुवाइ ढिलो हुनुको कारण खोज्नुपर्छ,’ सम्पादकीयमा भनिएको छ, ‘अदालतमा लामो समय अल्झिएका मुद्दाका प्रकृति÷प्रवृत्ति केलाइनुपर्छ ।’

गोरखापत्र दैनिकले नेपालले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि बढाएको उल्लेख गर्दै ‘प्रभावकारी स्वास्थ्य बीमा’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘उपचारका क्रममा सर्वसाधारणलाई पर्ने आर्थिक भार व्यवस्थापन गर्न नागरिक स्वयं र सरकारको संलग्नतामा ल्याइएको स्वाथ्य बीमा कार्यक्रममा जनताको सहभागीता बढ्दै गएको छ,’ सम्पादकीयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्