थुलुङ समुदायको हिनामिना जग्गा फलोअपः मिलेमतोमा पैसा खाएको खुलेपछि कागजात लुकाइयो



०७ पुष २०७६, काठमाडौं

थुलुङ(राई) सामाका उपाध्यक्ष राम थुलुङले एकलौटी निर्णयबाट विक्री गरेको जग्गामा घोटला भएको सार्वजनिक भएपछि सामाका अध्यक्ष पूर्णासिंह राई र राम थुलुङले कागजात लुकाएका छन्।

सामाको भक्तपुर नखेलमा रहेको जग्गा बेच्ने क्रममा घोटला भएको सार्वजनिक भएपछि उनीहरुले जग्गा विक्रीसम्बन्धी संस्थाले गरेको सबै कागजात संस्थाको कार्यालयबाट आफ्नै निवासमा लगेर राखेको र माग्न जाँदासमेत नदिएको ‘थुलुङ समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ले जनाएको छ।

थुलुङ[राई]सामाको जग्गा एकलौटी निर्णयमा विक्री, २१ लाख बढी घोटला

आईतबार(हिजो) पूर्वनिर्धारित समयानुसार सरोकार समितिसँगै थुलुङ समुदायको हकहितमा जुट्ने टोली सामाको कार्यालय, सोह्रखुट्टेसम्म पुग्दासमेत उपाध्यक्ष राम थुलुङले अरु पदाधिकारीहरुलाई नबोलाएको समितिले जनाएको छ। केही पदाधिकारीहरुलाई बोलाएको भएपनि आउन नमानेको राम थुलुङको भनाई थियो।

यो हुनु भनेको राम थुलुङ नै बढी दोषी हुनुको संकेत भएको सामाका संस्थापक सचिव तथा सरोकार समितिका संयोजक जनीकुमार राईले बताए। “बोलाउँदा पनि अन्य पदाधिकारीहरु नआउनु भनेको राम दोषी देखिनु हो।” संयोजक राईले भने, ‘यसो हुनु भनेको सबैभन्दा बढी संलग्नता रामकै छ, भनेर बुझ्नु हो’

छलफलका क्रममा सरोकार समितिले जग्गा विक्रीको सन्दर्भमा सामामा भएको कागजातहरु देखाउनुपर्ने माग गरेपछि सामाका उपाध्यक्ष राम थुलुङले अध्यक्ष पूर्णासिंह राईको निवासमा रहेको बताएका थिए। त्यसलगत्तै सरोकार समिति नारायणथानस्थित सामाका अध्यक्ष पूर्णासिंह राईको घर पुगी कागजात मागेको थियो। कागजात माग्दा अध्यक्ष राईले मेरो अधिकारको कुरा हो, म दिन्न भनी उल्टै रिसाएको सरोकार समितिले जनाएको छ।

मिलेमतोमा घोटलाः

संस्थाका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा जग्गा विक्रीमा घोटला भएको खुलेको छ।

उनीहरु दुईजना बाहेकका अन्य पदाधिकारीहरुले भने आफूहरुले विश्वासको आधारमा माइन्यूटमा हस्ताक्षर गरेको र त्यसबाहेकका अन्य कुराहरु थाहा नभएको बताए।मालपोत कार्यालय भक्तपुरको रेकर्ड अनुसार सामाको जग्गा ४ रोपनी, २ आना, ३ पैसा, ४ दाम रहेको देखिए पनि अध्यक्ष र उपाध्यक्षले जग्गा ४८ आना मात्रै रहेको बताउँदै आएका छन्।

त्यस्तै उनीहरुले जग्गा १ करोड ८५ लाखमा बेचेको बताउँदै आएपनि मालपोतको रेकर्डमा २ करोड २ लाख ७२ हजारमा बेचिएको देखिएको छ।
प्रतिक्रिया दिनुहोस्