ओली–प्रचण्डबीच भेटवार्ताः सभामुख चयनमा सकारात्मक छलफल



०७ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार दुई घण्टा लामो भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सभामुख निर्वाचन, स्थायी कमिटी बैठकको समीक्षा र केन्द्रीय कमिटी बैठकको तयारीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुखमा सरकारलाई सहयोग गर्नेगरी सुवास नेम्वाङलाई बनाउनु पर्ने तर्क राख्दै आएका छन् भने अर्का अध्यक्ष प्रचण्डले पहिले पूर्व माओवादीको भागमा सभामुख परेको स्मरण गराउँदै स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन लविङ गरिरहेका छन्।

सोमबारको भेटवार्तामा भने दुर्व अध्यक्ष लगभग सहमती नजिक पुगेका छन्। स्रोतकाअनुसार यसअघि पनि पूर्वमाओवादीको भागमा परेकाले अबको सभामुख पूर्व माओवादीबाट हुने कुरामा प्रधानमन्त्रीसमेत सकरात्मक देखिएको स्रोतको दावी छ।

पूर्वमाओवादीले पाउने अवस्थामा नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुख बन्नेछन्। तर पूर्वमाओवादीकै नेताहरु ओनसरी घर्ती, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, पम्फा भुषाल र देव गुरुङसमेतको नाम सभामुख बन्ने चर्चामा छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्