
०७ मंसिर २०७६, काठमाडौं
नारायणी नदीमा २ सय २० यात्रु क्षमताको क्रुजसीपको सफल परीक्षण गरिएको छ।
आईतबार बेलुकी २५ जना यात्रुसहित सीपको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए। सीपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’वरपर परीक्षण गरिएको हो।
परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कँडेलले बताए। अब सीपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ। सीपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उनले बताए। ‘ठ्याक्कै यति समयमा सीप तयार हुन्छ भनेर भन्न सकेका छेनौं तर सक्दो चाँडो उद्घाटन गर्ने हिसाबले काम गरिरहेका छौं’ उनले भने।
गत चैतबाट निर्माण शुरु भएको क्रुजसीप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो। स–साना प्राविधिक कामले ढिला हुन पुगेको कँडेलको भनाई छ।
अबका दिनमा भने, क्रुजसीपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ। १५ करोड लगानी गरेर बनाइएको क्रुजसीप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ।
क्रुजसीप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।





