डा. भट्टराईको पहलमा बूनपा ९ को खानेपानी समस्या समाधान हुँदै



०६ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ नयाँ कोलोनी उपभोक्ता समितिको पहलमा डा. राजन भट्टराईले नयाँ कोलोनी बोरिङ्ग खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी तत्काल कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छन् ।

करिब २००० घरधुरी लाभान्वित हुने नयाँ कोलोनी बोरिङ्ग खानेपानी आयोजनाको डिप बोरिङ्ग ०७२ सालको भूकम्पपछि पूर्ण रुपमा संचालनमा नआउने र कतिपय समयमा लेदो पानी समेत स्थानीयवासीले उपभोग गर्न बाध्य थिए । उक्त समस्या समाधानको लागि विभिन्न निकायमा पहल गर्दा पनि सुनुवाई नभएपछि समितिका अध्यक्ष गोविन्द कटुवाल सहितको टोलीले डा. राजन भट्टराईलाई आज बिहान समस्या समाधानको लागि ९ स्थलगत निरीक्षण गराएको थियो ।

खानेपानी जस्तो संवेदनशील विषयमा गम्भीर भएका डा. भट्टराईले स्थलगत निरीक्षणको क्रममै काठमाडौं उपत्यका खानेपानी आयोजना प्रमुख मिलन शाक्यलाई सम्पर्क गरी आफ्नो कार्यालयमा २ः३० बजे छलफलका लागि उपस्थित हुन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमै रहेको डा. भट्टराईको कार्यकक्षमा बूनपा ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, वडा सदस्य पर्शुराम कार्की, समितिका अध्यक्ष गोविन्द कटुवाल सहित स्थानीय सरोकारवाला र आयोजना प्रमुख बिचको छलफलपछि योजना कार्यान्वयनको लागि तत्काल प्रक्रिया अगाडि बढेको छ ।

डा. भट्टराईको कार्यकक्षमा भएको छलफलको आधारमा सरोकारवालासँगै स्थलगत निरीक्षण गरेका प्रमुख शाक्यले दुई महिना भित्र खानेपानी ट्रिटमेन्ट प्लान्ट र नयाँ डिप बोरिङ्ग सहितको योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको उपभोक्ता समितिका अध्यक्ष कटुवालले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्